सर्वसाधारणका लागि ७ लाख १८ हजार बढी कित्ता शेयर निष्काशन गर्दै स्नो रिर्भस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १५ । सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रर्वद्धक स्नोरिर्भस कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

प्रतिकित्ता एकसय रुपैयाँ रहेको ७ करोड ७८ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको शेयर बैशाख २९ गते निष्काशन गरिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । यसअघि स्नोरिर्भसले आयोजनाको मुख्य प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता र आयोजनाको प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अतिप्रभावित र प्रभावित क्षेत्रका शेयर लगानीकर्ताको शेयर रकम बाँडफाँड समेत सम्पन्न गरिसकेको छ । प्रभावित क्षेत्रमा सिरिजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७,सिदिङ्वा गाउँपालिकाका वडा नं. ५ र ६,पाथीभरा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं १ रहेका थिए ।

कम्पनीले आयोजना अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर आयोजना अति प्रभावित र प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले ४६ हजार ८ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १८ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

सर्वसाधारणका लागि निष्काशन गर्न लागेको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम् १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुने स्नोरिर्भसले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ । यो आयोजना काम सुरु भएको छोटै अवधिमा पूरा भएको आयोजनाको रूपमा चिनिएको छ । बाढी र पहिरोले समस्या पारे पनि छोटो अवधिमै काम सम्पन्न गरेर आयोजनाले उपभोक्तामाझ ख्याति कमाएको छ ।

 

Similar Posts