नेत्रज्योति संघद्धारा आँखा स्वास्थ्य सेवाका स्वयंसेवीलाई सम्मान र बिद्यार्थीलाई निःशुल्क चश्मा बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १४ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले आँखा स्वास्थ्य क्षेत्रमा सक्रिय एक स्वयंसेवीलाई सम्मान तथा चश्मा लगाउन अनिवार्य भएका १ सय १६ बिद्यार्थीलाई निःशुल्क चश्मा बितरण गरेको छ ।

४८ औं नेत्रज्योति दिवसको अवसरमा संघले फुङलिङ नगरपालिका वडा नं ५ की गंगा गुरुङ दोसल्ला सहित सम्मानपत्र बितरण गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । नेत्रज्योति दिवसकै अवसरमा संघले बिद्यालय आँखा जाँच कार्यक्रम अन्तरगत फुङलिङस्थित लिटलबुद्ध आवासीय माविका १ सय १६ जना बिद्यार्थीलाई निःशुल्क चश्मा बितरण गरेको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार सो बिद्यालयमा १ हजार ५५ जना बिद्यार्थीको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएकामध्ये ६७ छात्रा र ४९ छात्रको आँखामा समस्या देखिई चश्मा नलगाई नहुने पाईएपछि संघले स्थापना दिवसको अवसर पारेर उनीहरुलाई निःशुल्क चश्मा बितरण गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेनले आँखा जस्तो सम्बेदनशिल अंगको संरक्षण र जोगावटका लागि समुदाय सचेतना र स्वास्थ्य सेवा प्रदान गर्न नेत्रज्योति संघमार्फत भइरहेका गतिविधिको प्रशंसा गर्नुभयो । आफुहरु पनि आँखा स्वास्थ्य सेवाको विकास र बिस्तारमा साझेदार हुँदै आएको स्मरण गर्दै नगरप्रमुख मादेनले आँखाको सम्बेदनशिलताप्रति सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङमा आफैंले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सञ्चालन गरेको छ भने दोभान बजारमा मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको साझेदारीमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा छ ।

नेत्रज्योति संघको शाखा नभएको पाँचथरका दुई स्थानमा समेत नेत्रज्योति संघ ताप्लेजुङको अगुवाईमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । थर्पु बजारमा रहेको आँखा उपचार केन्द्र याङवरक गाउँपालिका र यासोक बजारमा रहेको आँखा उपचार केन्द्र कुम्मायक गाउँपालिकाको साझेदारी तथा नियमनमा सञ्चालनमा रहेका छन् ।

Similar Posts