उपभोग्य बस्तु आवश्यकता भन्दा बढी सञ्चित नगर्न र प्रचलित दर भन्दा बढी मूल्य नलिन क्रेता र बिक्रेतालाई अनुरोध
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खाना पकाउने ग्याँस आवश्यकता भन्दा बढी मात्रामा मौज्दात नगर्न उपभोक्तालाई र गैर कानुनी हिसावले लुकाई छिपाई प्रचलित दर भन्दा बढीमा बिक्री नगर्न व्यवसायीलाई सचेत गराएको छ ।
आइतवार सरोकारवालासंग छलफल पछि साँझ एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बस्तु तथा सेवाको मूल्य प्रचलित दररेट भन्दा बढीमा बिक्री भएको पाईए पैसा नलाग्ने टोल फ्रि नम्बर १०० मा प्रहरीलाई खबर गर्न भन्नु भएको छ । सेढाइँद्धारा जारी विज्ञप्तिमा एलपी ग्याँस तथा अन्य उपभोग्य बस्तुहरुको आपूर्ति तथा बिक्री बितरणको कार्यलाई सूचारु र व्यवस्थित गर्न सबै पक्षले सहयोग गर्नुपर्ने उल्लेख छ । उपभोक्ताले आवश्यक परिणाम भन्दा बढी मात्रामा कुनैपनि उपभोग्य बस्तुको मौज्दात नगर्न र बिक्री बितरणलाई बस्तुपरक र सहज बनाउन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्ने प्रशासनको ठहर छ ।
उपभोक्ताले आफुलाई आवश्यक पर्ने एलपी ग्याँस र पेट्रोलियम पदार्थका लागि नजिकको बिक्रेतासंग सम्पर्क गर्न,विद्युत चुल्होको प्रयोग गरी ग्याँसको निर्भरता कम गर्न अनावश्यक रुपमा सञ्चिति नगर्न तथा व्यवसायीले कहिंकतै लुकाई छिपाई राखेर गैर कानुनी र प्रचलित दर भन्दा बढी मूल्यमा बिक्री नगर्न प्रशासन कार्यालयले सचेत गराएको छ । ग्याँसमा अतिरिक्त रकम लिई बिक्री गर्ने,कम तौलको ग्याँस बिक्री गर्ने,ग्याँस हुँदैहुदै पनि नभएको भनी उपभोक्तालाई हैरानी र सास्ती दिने,भरिएको ग्याँसको सिल खोली खाली जस्तो बनाई छक्याउने जस्ता कार्य गरे प्रशासनले आवश्यक कानुनी कारवाहीको प्रकृया अघि बढाउने प्रशासन कार्यालयको भनाई छ । यस्ता गैर कानुनी कार्य नगर्न नगराउन समेत प्रशासन कार्यालयले सम्वन्धित सबैलाई आग्रह गरेको छ ।