उच्च शिक्षा अध्ययन गर्ने दुर्गमका विद्यार्थीलाई छात्रवृति प्रदान
-प्रयास लिम्बू
ताप्लेजुङ, असोज २६ । ताप्लेजुङको ग्रामीण तथा दुर्गम क्षेत्रका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । सामथ्र्य फाउन्डेसनले विभिन्न संकायमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सोमबार छात्रवृति प्रदान गरेको हो ।
सामथ्र्य फाउन्डेसनले आफ्नो कार्य क्षेत्रअन्तर्गत जिल्लाको सिरिजंघा र फक्ताङ्लुङ गाउपालिकाका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । जिल्लास्थित फाउन्डेसनका वरिष्ठ प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार उच्च शिक्षा अध्ययनरत २४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ ।
शैक्षिक सत्र २०८३-८४ मा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृति प्रदान गरिएको वरिष्ठ प्रवन्धक पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न संकायको कोर्ष पुरा गर्न अर्थात दुई वर्षे र तीनवर्षे अवधिका लागि विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको हो । छात्रवृति प्राप्त गर्ने विद्यार्थीलाई कुल २४ लाख ७२ हजार रुपियाँ वितरण गरिएको छ ।
फाउन्डेसनका अनुसार तीनवर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने सिरिजंघा–५ मामाङ्खेकी निमिन्ता माबो लिम्बू र एन्जिला भट्टराईले छात्रवृति प्राप्त गर्नुभएको छ । यस्तै दुईवर्षे विज्ञान संकायतर्फ फक्ताङ्लुङ–२ खेजेनिमकी समीक्षा अन्छङ्बो, फक्ताङ्लुङ गाउपालिका–६ लेलेपका जलन लिम्बू, सिरिजंघा–८ याम्फुदिनकी स्पन्धन राई, वडा ७ खेवाङका साइमन दाहालले छात्रवृति पाउनुभएको छ ।
त्यस्तै फक्ताङ्लुङ–४ इखाबुकी सुजता लिम्बू, वडा २ खेजेनिमकी सरिता लिम्बू, खेजेनिमकै सुमना लिम्बूले छात्रवृति प्राप्त गरेका छन् । दुईवर्षे शिक्षा, मानविकी र व्यवस्थापन संकायमा अध्ययनरत फक्ताङ्लुङ–१ सावादेनका सुमन लिम्बू, वडा २ खेजेनिमका विक्रम लिम्बू, पार्वता कार्कीले छात्रवृति पाउनुभएको छ । यसरी नै छात्रवृति प्राप्त गर्नेमा फक्ताङ्लुङ–५ का संक्रमण लिम्बू, वडा १ सावादिनकी सविता लिम्बू, शिशिर लिम्बू, वडा २ खेजेनिमका लाक्पा खान्डु शेर्पा, आशा लिम्बू, सूर्यमान तामाङ रहनुभएको छ ।
फक्ताङ्लुङ–४ इखाबुकी अञ्जली तामाङ, सिरिजंघा–६ मामाङ्खेकी पुजना लिम्बू, वडा ७ खेवाङकी युक्का लिम्बू, फक्ताङ्लुङ–६ लेलेपकी अस्मी लिम्बू, वडा ४ इखाबुका दर्शन लिम्बू, सिरिजंघा–८ याम्फुदिनकी सुस्मिता राईले छात्रवृति प्राप्त गर्नुभएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको पहिलोपटक आरोहण गर्ने बेलायतका नागरिक जर्ज बैण्डको सम्झनामा छात्रवृति स्थापना गरिएको हो ।
फाउन्डेसनका अनुसार जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृति हालसम्म १३० जना विद्यार्थीले प्राप्त गरिसकेका छन् । हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा विगत १३ वर्षदेखि दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा छात्रवृति निरन्तर वितरण गरिँदै आएको वरिष्ठ प्रवन्धक पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रवृतिमा हालसम्म करिव एक करोड ६९ लाख ६५६ रुपियाँ खर्च भइसकेको छ ।
जिल्लाको भौगोलिक विकटता भएको दुर्गम क्षेत्रलाई परियोजनाको कार्यक्षेत्र बनाएर पहिले ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) र हाल सामथ्र्य फाउन्डेसनका नाममा गुणस्तरीय शिक्षाका लागि निरन्तर क्रियाकलाप हुँदै आएको छ । परियोजनामार्फत शिक्षक तालिम, उच्च शिक्षा छात्रवृति, शैक्षिक सामग्री सहयोग, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापन, पिउने पानीको व्यवस्था, शौचालय र विद्यालय भवनहरु निर्माण गर्ने गरिएको छ ।
यता छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुसँग उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन र छात्रवृति रकमलाई प्रभावकारी रुपमा सदुपयोग गर्नेजस्ता शर्तसहित फाउन्डेसनले लिखित सम्झौतासमेत गरेको छ । यसैगरी विद्यार्थीहरुको शैक्षिक प्रगतिको आधारमा फाउन्डेसनले थप योगदान दिने योजनासमेत बनाएको जनाएको छ । उच्च शिक्षा छात्रवृति कार्यक्रमको सकारात्मक प्रभाव देखिएको पनि फाउन्डेसनकी परियोजना अघिकृत अमृता थलङ लिम्बूले जानकारी दिनुभयो ।