ताप्लेजुङमा पुँजीगत बजेट परिचालन निरासाजनक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १७ । चालु आर्थिक बर्षको मध्य चैतसम्ममा ताप्लेजुङमा पुँजीगत बजेटको खर्च संघतर्फ २२ प्रतिशत र प्रदेशतर्फ १२ प्रतिशत भन्दा माथि खर्च हुन नसकेको देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार मध्य चैतसम्ममा पुँजीगत बजेटमध्ये संघतर्फ २१.७० प्रतिशत र प्रदेशततर्फ ११.१४ प्रतिशत मात्र खर्च भएको । चालु बजेटको खर्च भने पुँजीगतको तुलनामा निकै ठूलो हिस्साले माथि देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन खनालका अनुसार चालु बजेट संघतर्फ ६०.९५ र प्रदेशतर्फ ३४.९७ प्रतिशत खर्च भएको छ । संघतर्फ चालुमा कुल ४ अर्ब ७१ करोड १७ लाख ८६ हजार २८ रुपैयाँ बजेट रहेकोमा मध्य चैतसम्ममा २ अर्ब ८७ करोड २२ लाख ५४ हजार ७०८ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ ।

संघतर्फ पुँजीगतमा ८२ करोड ९० लाख १५ हजार रुपैयाँ बजेट रहेकोमा १७ करोड ९९ लाख ४०३ रुपैयाँ मात्र खर्च भएको छ । प्रदेशतर्फ चालुमा ६० करोड ६३ लाख ८६ हजार रुपैयाँ बजेट रहेकोमा २१ करोड ९ लाख ९९ हजार ७८४ रुपैयाँ खर्च भएको छ ।

खनालका अनुसार प्रदेशको पुँजीगततर्फ ५७ करोड २७ लाख ४४ हजार रुपैयाँ बजेट रहेकोमा ६ करोड ३८ लाख ४१ हजार ६८३ रुपैयाँ मात्र खर्च भएको छ । सामान्यतया चालु बजेट भनेको साल बसाली रूपमा हुने खर्चमा पर्छ । यस अन्तर्गत साल बसाली रूपमा गरिने उपभोग खर्च दैनिक रूपमा कार्य सञ्चालनका लागि आवश्यक खर्च, तलवभत्ता,सरकारी निकायले सार्वजनिक हितका लागि प्रदान गर्ने सेवा तथा त्यस्तो सेवा प्रदान गर्ने निकायलाई दिइने खर्च चालु बजेट हो ।

पुँजीगत बजेट भन्नाले सरकारले भौतिक पूर्वाधार निर्माण,स्थायी सम्पत्तिको सिर्जना र पुँजी निर्माणका लागि गर्ने लगानी गर्ने रकमलाई जनाउँछ । पुँजीगत बजेट खर्च नहुँदा विकास निर्माणको अवस्था समेत कमजोर हुने मानिन्छ । त्यही कारण पुँजीगत बजेट परिचालन हुन नसक्दा विकास निर्माणको गति समेत कमजोर हुने अवस्था आउँछ ।

Similar Posts