झण्डोत्तोलन र शुभकामना आदान–प्रदान सहित ताप्लेजुङमा एकसाथ मनाईयो प्रजातन्त्र दिवस र निर्वाचन दिवस
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवस तथा १० औं निर्वाचन दिवसको अवसरमा बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङ प्रवेशद्धार हेलिप्याड भण्डोत्तोलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस आयोजक मूल समारोह समितिको आयोजनामा हेलिप्याडमा रहेको नेपालको राष्ट्रिय झण्डा परिर्वतन गरी झण्डोत्तोलन गरिएको हो । संबिधान दिवसको अवसरमा हेलिप्याडमा राखिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन संगै फेरिएको जिल्ला समन्वय समिति ताप्लेजुङका निमित्त समन्वय अधिकारी युवराज पौडेलले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र दिवससंगै निर्वाचन दिवस समेत मनाईएको छ । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निश्पक्ष र भयरहित तवरले सम्पन्न गर्ने कुरामा सबैको सक्रिय सहभागिताको अपेक्षा सहित १० औं निर्वाचन दिवस मनाईएको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले आवधिक निर्वाचन प्रजातन्त्र र लोकतन्त्रको प्राण भएको बताउँदै यसपटक हुन लागेको निर्वाचनलाई सभ्य र भव्य ढंगले सम्पन्न गर्न सबैको रचनात्मक सहयोग र सक्रियताको खाँचो औंल्याउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान दिने सहीदहरुको सपना साकार पार्न जिम्मेवार निकाय तथा व्यक्तिहरु आफ्नो जिम्मेवारीप्रति इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको निर्वाचन आउन केहि अवधि मात्र बाँकी रहेको अवस्थामा सबैले निर्वाचनलाई भयरहित र निश्पक्ष बनाउने कुरामा सहयोग गर्नुपर्ने प्रजिअ सेढाइँको भनाई थियो । उहाँले प्रजातन्त्र जनता मालिक हुने शासन प्रणाली रहेकोमा जोड दिदैं मतदाताले फागुन २१ गतेको निर्वाचनमा अभूतपूर्व सहभागिता जनाएर आफ्नो अभिमत प्रकट गर्नुपर्नेमा सेढाइँले जोड दिनुभयो ।
कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक,सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,कोष नियन्त्रक यमरान गिरी,ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितको उपस्थिति रहेको थियो ।