संबैधानिक बिषयको निरुपण छिटो हुनुपर्छ: भट्टराई,‘सिंहदरवार जलाउनेको अभिष्ट पूरा हुँदैन’: थेबे

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २० । नेकपा एमालेका उप महासचिव योगेशकुमार भट्टराईले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताउनु भएको छ ।

संबैधानिक बिषयको छिटो निरुपण नहुँदा थप संबैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले सर्बोच्च अदालतले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाईप्रति संशय व्यक्त गर्नुभयो । एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनु भएका उहाँले प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुर्नस्थापित गर्न एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताउनुभयो । संबिधानलाई जीवित राख्न,लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उहाँले अदालतले संसद पुर्नस्थापना सम्वन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । संसद पुर्नस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उहाँको भनाई थियो । प्रतिनिधिसभाको बिगठन संबैधानिक नभएकोले त्यसको संबैधानिक परीक्षण अदालतबाट होस् भन्ने एमाले सहितका लोकतान्त्रिक शक्तिहरुको मान्यता रहेको भट्टराईको भनाई थियो ।

सुरक्षाको उचित पूर्व तयारी नहुँदा भदौ २३ गतेको अप्रिय घटना भएको र उक्त घटना राज्यको कमजोरीको रुपमा रहने बताउँदै भट्टराईले आन्दोलनलाई भड्काउने मानिसहरुका कारण आवश्यकता भन्दा ज्यादा बल प्रयोग हुन पुगेको बताउनुभयो । उहाँले भदौ २४ गते को घटनालाई क्रान्तिको रुपमा नभई विध्वंसको रुपमा बुझ्नुपर्ने बताउनुभयो । राज्यका संयन्त्रले भदौ २३ को घटनामा सुरक्षाको उचित र प्रभावकारी व्यवस्थापन गर्न सकेको भए भदौ २४ को अवस्था नआउने उहाँको तर्क थियो । हरेक संस्थागत संगठनमा लोकतन्त्रको अभ्यास हुँदा एकपक्ष जित्ने र अर्को पक्ष हार्ने भएपनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकोले पराजितहरुको आकाँक्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

भट्टराईले एमाले महाधिबेशनबाट पराजित भएकाहरु नेपाली कम्युनिष्ट पार्टी सहितका अन्य दलमा जान सक्छन् भन्ने आशंका नपाल्न आग्रह गर्दै भन्नुभयो‘तपाँईहरुको सपना मनको लड्डु घीउसंग खानु बराबर मात्र हुने छ’ । उहाँले एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूची अब पार्टीको आधिकारिक धारणा रहेकोमा प्रष्ट हुनुपर्ने बताउनुभयो ।‘हामीले बैठकमा पटक–पटक यसअघि समानुपातिकको अवसर पाएकालाई नराखी अवसरबाट बञ्चितलाई समेटौं भन्यौं,बैठकमा आफ्ना सुझाव राख्यौं,अब पेश भएको सूची मान्नुपर्छ’भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली चिढ्याउन चाहनु भएन । उहाँले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपनि सर्वसम्मत रुपमा एकजना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउने बताउनुभयो । पहिले पार्टी,दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उहाँको भनाई थियो ।

कार्यक्रममा भट्टराईसंगै रहनु भएका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाउनुभयो । उहाँले काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भएपनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरु सिंहदरवार,सर्बोच्च अदालत,संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताउनुभयो । नवयुवाहरुका मुद्दा साझा मुद्दा भएपनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागिपर्नेहरु कहिल्यै जनताका भक्त हुन नसक्ने उहाँको दावी थियो ।

भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका ५ मध्ये एकजना आउँदो निर्वाचनका लागि एकजना उम्मेदवार हुने अरु ४ जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउने दावी गर्नुभयो । एमाले ताप्लेजुङको शनिवार बसेको बैठकले उपमहासचिव भट्टराई,पार्टीका केन्द्रीय सदस्य थेबे,अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो,निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।

 

Similar Posts