शिक्षक र बिद्यार्थीलाई सम्मान गर्दै मनाईयो प्याब्सन दिवस
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २४ । गतबर्षको एसईई परीक्षामा निजी बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने बिद्यार्थी तथा लामो समयसम्म शिक्षण पेशामा आबद्ध एक शिक्षकलाई सम्मान गर्दै प्याब्सन ताप्लेजुङले ३५ औं स्थापना दिवस तथा दोस्रो जिल्ला परिषद् बिहीबार सम्पन्न गरेको छ ।
निजी तथा आवासीय बिद्यालयहरुको छाता संस्था प्याब्सनले गतबर्षको एसईई परीक्षामा निजी बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने कञ्चनजंघा बोर्डिङ स्कुलकी छात्रा रमियुका राई(३.७८ जिपीए) र लामो समय देखि सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षिका कविता राईलाई सम्मान गरिएको प्याब्सन ताप्लेजुङका सचिव तरुण भारतीले जानकारी दिनुभयो । भेलामा प्याब्सन ताप्लेजुङले सांगठनिक र शैक्षिक कार्ययोजना पारित गरेको छ भने आगामी कार्ययोजनाका बारेमा पनि छलफल भएको प्याब्सन ताप्लेजुङले जनाएको छ ।
जिल्ला अध्यक्ष गणेश सिग्देलको निधनका कारण यसबर्ष प्याब्सन ताप्लेजुङले बृहत्त रुपमा स्थापना तथा जिल्ला परिषद् भेला नगरी कार्यालयमै सिमित गरिएको जिल्ला प्याब्सनका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । प्याब्सनका केन्द्रीय सदस्य दिनेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य युवराज गिरी,पूर्व कोशी प्रदेश पदाधिकारी दिनेश प्रसाँई,प्याब्सन ताप्लेजुङका प्रमुख सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङको उपस्थिति रहेको थियो । भेलाले बिरामी भई उपचारमा रहनु भएका प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष काजीमान पालुङ्वाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।