न्यूनतम् व्यवसायिक मापदण्ड सम्झाउँदै गरियो फुङलिङका बजार अनुगमन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २४ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार ताप्लेजुङको फुङलिङका बजार तथा पसलको अनुगमन गरी न्यूनतम् व्यवसायिक मापदण्डका बारेमा व्यवसायीलाई सचेत गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजत्वमा गरिएको बजार अनुगनमा बिहीबार उपभोग्य बस्तुको हदम्याद,मूल्यसूची,प्रचलित दरमा बिक्री भए नभएको र दर्ता तथा नविकरणको अवस्थाका बारेमा निरीक्षण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा उद्यम विकास अधिकृत नवीन भट्टराईका अनुसार अनुगमनलाई कार्यतालिका अनुसार थप तीव्रता दिईने छ । अनुगमन टोलीले पहिलो चरणमा व्यवसायीलाई न्यूनतम् व्यवसायिक मापदण्डको प्रभावकारी पालनामा सचेत गराएको र अब उप्रान्त अनुगमनका कडाई गरिने सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । अबको अनुगमनमा न्यूनतम् व्यवसायिक मापदण्डको उचित पालना नगरे नियमानुसार हुने सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय,ताप्लेजुङ उद्योग बाणिज्य संघ,उपभोक्ता हित संरक्षण मञ्च र पत्रकार महासंघ समेतको साझेदारीमा बजार अनुगमनलाई निरन्तरता दिईने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता हित र कल्याणलाई ध्यानमा राखी कार्यतालिका बनाएर नियमित रुपमा अनुगमन गर्ने नीति लिएको छ । माछामासुजन्य,खाद्यान्न सहितका दैनिक उपभोग्य,होटल तथा पसल,तरकारी तथा फलफूल,जुत्ता तथा कपडा व्यवसाय र श्रिंगार सामग्री व्यवसाय समेतलाई अनुगमनको कार्यतालिकामा समावेश गरी अनुगमनलाई नियमित र प्रभावकारी बनाउने योजना बनाईएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

Similar Posts