नेकपाका नेता बुडाक्षेत्रीद्वारा निर्वाचन लक्षित परामर्श सुरु
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २४ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका दलका नेताले ताप्लेजुङमा निर्वाचन लक्षित परामर्श सुरु गरेका छन् । चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्रमा समेट्नुपर्ने विषयबारे आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले उम्मेदवार सिफारिस भएका नेताले परामर्श सुरु गरेका हुन् ।
बिहीबार नेपाली कम्युनिस्ट पार्टीका नेता खेलप्रसाद बुडाक्षेत्री (पराग) ले निर्वाचन लक्षित परामर्श गर्नुभएको छ । बुडाक्षेत्रीले स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग आगामी निर्वाचन लक्षित परामर्श गर्नुभएको हो । चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा समावेश गर्ने विषयसँग केन्द्रित रहेर उहाँले जिल्लाका पत्रकार तथा सञ्चारकर्मीसँग परामर्श सुरु गर्नुभएको छ ।
चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्रमा समेट्ने विषयमाथि आवश्यक सल्लाह र सुझाव लिने उद्देश्यले परामर्श सुरु गरेको नेता बुडाक्षेत्रीले बताउनुभयो । उहाँले जिल्लाको वस्तुगत आवश्यकता र सम्भावनाका विषयलाई समेटेर प्रभावकारी घोषणापत्र बनाउनेगरी आफू लागेको बताउनुभयो । प्रचारमुखी र महत्वकांक्षी विषयहरु चुनावी घोषणापत्रमा समावेश गर्ने पक्षमा आफू नरहेको बताउँदै उहाँले कार्यान्वयनयोग्य विषय तथा योजनाहरु घोषणापत्रमा समावेश गरेर अघि बढ्ने बताउनुभयो ।
जिल्लामा सबै पक्षसँग परामर्श गरी आवश्यक सल्लाह, सुझावहरु संकलन गरेर चुनावी घोषणापत्रमा समावेश गर्ने र निर्वाचनमा विजयी भएमा कार्यान्वयन गर्न आफू लागिपर्ने पनि उहाँले बताउनुभयो । जिल्लाको पर्यटन प्रवर्द्धन र विकास, कृषि, शिक्षा, स्वास्थ्य, आवश्यक पूर्वाधार र जनजीविकाका सवालहरुलाई मुख्य विषय बनाई चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्र तयार गर्ने योजनामा रहेको उहाँको भनाइ छ ।
यता जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले कार्यान्वयन हुने विषय वा योजनालाई मात्र चुनावी घोषणापत्रमा समेट्दा राम्रो हुने सुझाव दिएका छन् । आवश्यकताहरु प्रशस्तै हुने हुँदा सोहीअनुसार अपेक्षा हुनु स्वाभाविक भए पनि कार्यान्वयन गर्न सकिने अल्प र दीर्घकालीन प्रभावका विषयप्रति राजनीतिक दलका नेता अर्थात उम्मेदवारले जोड दिनुपर्नेमा सञ्चारकर्मीहरुको सुझाव रहेको छ ।
विगतका निर्वाचनहरुमा दलका नेता तथा उम्मेदवारले महत्वकांक्षी योजनाहरु चुनावी घोषणापत्रमा समावेश गर्दा निर्वाचित भएपछि कार्यान्वयन गर्न नसक्दा नेता वा जनप्रतिनिधिप्रति जनतामा अविश्वास र निरासा बढ्दै गएकोतर्फ पनि सञ्चारकर्मीले सचेत गराएका छन् । तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहनुभएका बुडाक्षेत्रीको नाम नेपाली कम्युनिस्ट पार्टीले जिल्लाबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको छ ।