सरसफाई र सचेतनामुलक कार्यक्रमका साथ मनाइयो एनसिसी अल्मुनाई नेपालको आठौं स्थापना दिवस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ९ । सरसफाई र मौन र्‍यालीका साथ ताप्लेजुङमा राष्ट्रिय सेवा दल एनसिसी अल्मुनाई एशोसिएसन नेपालको आठौं स्थापना दिवस मनाईएको छ ।

एनसिसी अल्मुनाई एशोसिएसन ताप्लेजुङको आयोजना तथा यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्म र लिटलबुद्ध बोर्डिङ स्कुलको समन्वयमा स्थापना दिवस मनाईएको हो । दुर्गादल गुल्म,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा,लिटलबुद्ध ईङ्लिस बोर्डिङ स्कुल सहितको सहभागितामा बुधवार फुङलिङको तोक्मेदेखि वीरेन्द्रचौकसम्म सफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक मनिष देवानको अकस्मात निधनपछि शोकका कारण नेपाल प्रहरीको टोली भने सहभागी भएन । सफाईपछि आयोजित कोणसभा अघि लिटलबुद्ध ईङ्लिस बोर्डिङ स्कुलका एनसिसी तालिमप्राप्त बिद्यार्थीहरुले आगलागी बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेका थिए ।

बिद्यालयका प्रिन्सिपल युवराज गिरीका अनुसार खाना पकाउने ग्याँस लिक भई आगलागीको जोखिम भए त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषयमा सचेतनामुलक कार्यक्रम गरिएको थियो । लिटलबुद्धका एनसिसी तालिम प्राप्त बिद्यार्थीले एरोबिक र साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काका अनुसार ताप्लेजुङमा पनि एनसिसीबाट दिक्षित बिद्यार्थीहरुको संस्थागत संगठन एनसिसी अल्मुनाई एशोसिएसन गठन भएको छ । यो बर्ष एशोसिएसन स्थापनाको आठौं बर्ष हो । सोहि अवसरमा उक्त कार्यक्रम सञ्चालन गरिएको दुर्गादल गुल्मले जनाएको छ । विक्रम् सम्वत् २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल(एनसिसी)नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था २०७५ मा स्थापना भएको हो ।

कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,दुर्गादल गुल्मपछि खड्का,सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ,पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम,प्याब्सनका पूर्व जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङ सहितको उपस्थिति रहेको थियो ।

Similar Posts