मेहेलेका एक व्यक्ति मृत फेला

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका एक व्यक्ति सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङको मुक्तुरा भिरबाट लडी काबेली खोलामा परेर मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेहेले घर भई हाल अपर काबेली हाइड्रोपावरमा कार्यरत ४७ बर्षिय धनप्रसाद भण्डारी मृत भेटिएका हुन् । सिरिजङ्गा गाउँपालिका वडा नं ४ सिबुदिन बस्दै आएका भण्डारीको शव मुक्तुरा भीरको तल काबेली खोलामा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भण्डारीको शव फेला पारेको हो । मुक्तुरा भीरबाट लडी काबेली खोलामा पसी खोलाले करिव एकसय मिटर बगाएको र ढुङ्गाको चेपमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

फागुन २३ गते शुक्रवार बिहान अपर काबेली हाइड्रोपावरमा काम गर्न गएको तर बेलुका फर्की नआएपछि भण्डारीको खोजी थालिएको थियो । स्थानीयले काबेली खोलामा मृत मानिस फेला परेको जानकारी गरेपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिएको थियो ।

Similar Posts