ताप्लेजुङको हाङदेवामा हिमाली कालो भालुको आतंक,पशु चौपाया माथिको आक्रमण बढ्न थालेपछि चिन्ता
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ६ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेपछि स्थानीयले चिन्ता जनाएका छन् ।
वडाध्यक्ष लक्षुमन गुरुङले भालुले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिनु भएको छ । उहाँका अनुसार स्थानीय भगिमान गुरुङका तीनवटा खसी र नारायणप्रसाद गुरुङका एउटा भेडा र एउटा खसी भालुको आक्रमणमा परी कतिपय मरेका र कतिपय गम्भिर घाईते भएका छन् । वडाध्यक्ष गुरुङले भालुको बिगबिगी बढेको भन्दै जंगलमा घाँस दाउरा गर्दा सर्तक रहन र हिड्डुलमा समेत सावधानी अपनाउन स्थानीयलाई आग्रह गर्नु भएको छ । केहि समय अघि मात्र पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा समेत भालुको आक्रमणमा परी एक महिला घाइते हुनु भएको थियो ।
डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादवले घटनाबारे अनौपचारिक जानकारी आएको र आफुले त्यसका बारेमा अनुसन्धान थालेको जानकारी दिनुभयो । औपचारिक जानकारी लिएर गरिने अनुसन्धान पछि पशु चौपायाको क्षतिका आधारमा थप प्रकृया अघि बढ्ने उहाँले बताउनुभयो । यादवका अनुसार ताप्लेजुङको यो क्षेत्रमा भेटिने भनेको हिमाली कालो भालु हो । २०७८ सालको फागुन तेस्रो साता एउटा हिमाली कालोभालु ताप्लेजुङ जिल्ला अस्पतालमै प्रवेश गरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले त्यहाँबाट उद्धार गरी वन कार्यालयको टोलीले सुरक्षित स्थानमा लगेर छाडेको थियो ।(सांकेतिक तस्बिर मात्र)