गतबर्षको डिफेण्डिङ च्याम्पिन भोजपुरले यसपटक पनि जित्यो पुसे मेलाको भलिबल उपाधि
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ६ । गतबर्षको डिफेण्डिङ च्याम्पिन भोजपुर भलिबल संघको टिमले ताप्लेजुङको दोभानमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो । भलिबल उपाधि जितसँगै भोजपुरले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सभापोखरीले १ लाख ७५ हजार रुपैयाँमा प्राप्त गरेको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको भलिबल प्रतियोगितामा ५ टोली सहभागी भएका थिए । पुसे मेलाको अवसरमा भलिबलसंगै कोशी प्रदेश स्तरीय तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता समेत भएको थियो ।
पुस १ गतेदेखि जारी पुुसेमेला शनिवार अबेर सकिएको छ । शनिवार राति गायक प्रकाश सपुत,समिक्षा अधिकारी सहितका कलाकारले प्रस्तुति दिएका थिए । यसबर्षको पुसेमेला अपेक्षाकृत भव्य रुपले सम्पन्न भएको भन्दै पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले सहयोगी सबैप्रति आभार व्यक्त गर्नु भएको छ । मेरिङदेन गाउँपालिकाको वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगमस्थल दोभान बजार सदरमुकाम फुङलिङ पछिको दोस्रो ठूलो व्यपारिक केन्द्र हो । पुसे मेला विगत ५२ बर्ष देखि लाग्दै आएको ऐतिहासिक मेला रहेको पुसे मेला सञ्चालन समितिले जनाएको छ ।