जेन जी ताप्लेजुङद्धारा टिपताला नाका सञ्चालन सहितका ४ बुँदामा नेपाल सरकारको ध्यानाकर्षण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १८ । नेपाल–चीनको स्वसासित क्षेत्र तिब्बतको सीमानाका टिपताला नाका सञ्चालन सहितका बिषयमा सरकारको ध्यानाकर्षण गराउँदै जेन जी ताप्लेजुङले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँमार्फत ४ बुँदे ध्यानकर्षणपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको जेन जी ताप्लेजुङका अगुवा सागर लामगादेले जानकारी दिनुभयो । जेन जी ताप्लेजुङका संयोजक गोपाल गुरागाँईद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा रहेको मुल भन्सार कार्यालयमा १५ दिन भित्र कर्मचारी खटाई कामकाज सुरु गर्ने प्रवन्ध गर्न,नेपाल–चीन सीमापास पत्र जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका सम्पूर्ण नागरिकले पाउने प्रवन्ध गर्न माग गरिएको छ । यस्तै फक्ताङलुङ गाउँपालिका वडा नं ७ मा पर्ने मौवाटारमा बन्दरगाह निर्माणको प्रसस्त सम्भावना रहेको भनि बन्दरगाह निर्माणको डिपीआर कार्य पूरा भईसकेकोले तत्काल बन्दरगाह निर्माणको प्रकृया आरम्भ गर्न माग गरिएको छ ।
तमोर करिडोर सडक(मूलघाट–दोभान–ओलाङचुङगोला)स्तरोन्नती तथा बेलिब्रिज निर्माण गरी उक्त कार्यका लागि लागेको ठेक्का प्रकृयालाई शीघ्र रुपमा अघि बढाउन माग गर्दै जेन जी ताप्लेजुङले सबैभन्दा छोटो ठानिएको उत्तर–दक्षिण(रानी–टिपाताला)सडकलाई महत्वको व्यपारिक नाका बनाउन माग गरेको हो । जेन जी ले नेपाल सरकार गृह मन्त्रालय,अर्थ मन्त्रालय,परराष्ट्रमन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई वोधार्थ दिदैं आवश्यक समन्वय र सहयोगका लागि आग्रह गरेको छ । जेन जी ताप्लेजुङले यही कात्तिक १४ गते सदरमुकाम फुङलिङमा जनप्रतिनिधि देखि सम्वद्ध सरोकारवालाहरुको उपस्थितिमा वृहत्त सम्बाद तथा सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । सोहि कार्यक्रममार्फत अभिव्यक्त भएको बिचारलाई जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष पेश गरिएको जेन जी ताप्लेजुङले जनाएको छ ।