लङ रुट पट्रोल पूरा गरी फर्कियो ताप्लेजुङ प्रहरीको टोली
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १७ । ताप्लेजुङका प्रहरी प्रमुखको‘कमाण्डमा’९ जनाको प्रहरी टोलीले उत्तरी ताप्लेजुङको सीमावर्ती बस्तिहरुमा पुगी लामो दूरीको गस्ति (लङ रुट पट्रोल)कार्य पूरा गरेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमको नेतृत्वमा सुसज्ज्ति हतियार र हतकडी सहित गस्तिमा निस्किएको टोलीले उत्तरी क्षेत्रका घुन्सा,खम्बाछेन,लोनाक,उत्तरी कञ्चनजंघा आधार शिविरसम्मको गस्ति पूरा गरेको हो । डिएसपी गौतमका अनुसार वर्तमान सुरक्षा चुनौति,बिदेशी पर्यटकहरुको निगारानी,हिमाली जडिबुटी तथा वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण,अन्तराष्ट्रिय सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिको निगारानी तथा प्रहरी सेवा प्रवाहबारे अति दुर्गम क्षेत्रका नागरिकलाई जानकारी गराउने उद्देश्य सहित एलआरपी कार्य पूरा गरिएको हो ।
प्रहरी टोलीले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलक्षित सुरक्षा चुनौति बारे फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)सहितका जनप्रतिनिधिसंग छलफल तथा अन्तरकृया समेत गरेको डिएसपी गौतमले जानकारी दिनुभयो । उक्त अवसरमा फक्ताङलुङ गाउँपालिकाले पालिकाको दुर्गम क्षेत्रका नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता समेत बितरण गरेको गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो ।