ताप्लेजुङमा निःशुल्क आँखा स्वास्थ्य शिविर: १९७ को परीक्षण गर्दा ४२ जनाको शल्यकृया गर्नुपर्ने देखियो
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २९ । आइतवारबाट ताप्लेजुङमा गरिने शल्यकृया सहितको आँखा शिविरको पहिलो दिन शनिवार परीक्षण गरिएका मध्ये करिव २२ प्रतिशत बिरामीको आँखाको शल्यकृया गर्नुपर्ने देखिएको छ ।
विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा आइतवार बिहानबाट गरिने आँखाको शल्यकृयाका लागि शनिवार आँखाका बिरामीको परीक्षण गरिएको थियो । परीक्षण गरिएका १ सय ९७ बिरामीमध्ये ४२ जनाको आँखाको शल्यकृया गर्नुपर्ने अवस्था रहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति तथा शिविर प्रचारप्रसार समिति संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार तिलगंगा आँखा अस्पतालको टोलीले शनिवार १ सय १२ पुरुष र ८५ महिलाको आँखाको परीक्षण गरेको थियो ।
परीक्षण पछि आँखाको शल्यकृया गर्नुपर्ने बिरामीलाई आइतवार बिहानबाट शल्यकृयास्थल डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा बोलाईएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण तथा उपचार कात्तिक ३०,मंसिर १ र २ गतेसम्म चल्ने छ । शनिवार अपरान्ह फुङलिङ आईपुगेका नेत्र रोग विशेषज्ञ डाक्टर सागर रुइत फुङलिङ आइपुगेको केहि समय पछि देखि नै उपचार तथा परीक्षणमा खटिनु भएको छ । डाक्टर सागर डाक्टर सन्दुकका छोरा हुनुहुन्छ । डाक्टर सन्दुक र डाक्टर सागर सहितको नेत्र रोग विशेषज्ञको टोलीले आइतवार बिहानबाट आँखाको शल्यकृया सुरु गर्नेगरी सबै तयारी पूरा भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।