राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाउने तयारी
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १७ । किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आउँदो कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो ।
किरातीहरुको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङले लिङ्देनको जन्मजयन्ती मनाउने भएको हो । संघका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाका अनुसार धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरु लिङ्देनको जन्मजयन्ती मनाउन लागिएको हो ।
लिङ्देनको जन्मजयन्ती मनाउने भएसँगै तयारीलाई तीब्र पारिएको अध्यक्ष पालुङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार फुङ्लिङ बजारनजिक बिहीबारेमा रहेको किरात माङ्हिम (मन्दिर) परिसरमा जन्मजयन्ती कार्यक्रम मनाइने भएको छ । राष्ट्रिय विभूति एवम् महागुरु लिङ्देनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो ।
किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारका कार्यमा लिङ्देनले महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । उहाँको सोही योगदानको मूल्यांकन गरी सरकारले २०६६ मङ्सिरमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । लिङ्देनको ताप्लेजुङसहित पूर्वका पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्लामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तयारी भइरहेको बताइएको छ ।