शुभकामना आदान–प्रदान गर्दै ताप्लेजुङमा मनाइयो नेपाल सम्वत्को नयाँ बर्ष

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ५ । नेपाल सम्वत् ११४६ को अवसरमा बुधवार ताप्लेजुङमा शुभकामना आदान–प्रदान तथा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएका छन् ।

नेपाल भाषा तथा साँस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नेपाल सम्वत् मौलिक सम्वत् भएको बताउनु भएको छ । उहाँहरुले नेपाल सम्वत्लाई मौलिक,सामाजिक र ऐतिहासिक महत्वको भनेर चित्रित गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरप्रमुख अमिर मादेनले आर्थिक बर्ष २०८३।८४ को बजेटबाट भिन्तुना डाँडामा राष्ट्रिय विभूति शंखधर साख्वाको धर्ककदको शालिक निर्माणका लागि बजेट बिनियोजन गरिदिने बताउनुभयो । उहाँले मुख्य दलहरुप्रति जनतामा रहेको निरासा चिरेर जनताका बिचमा जानुको विकल्प नभएको समेत बताउनुभयो ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले नेपाल सम्वत् र म्ह पूजाको बिशेषता र महत्वको चर्चा गर्नुभयो । आत्मालाई सन्तुष्ट राख्न सके देवी देवता खुसी भएर आर्शिवाद दिने जनविश्वास जस्तै प्रत्येक व्यक्ति आत्म सन्तुष्ट बन्न सके खुसी र सुखी हुने उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले नेपाल जातजाति,भाषा,संस्कार र संस्कृतिले सम्पन्न भएको स्मरण गर्दै नेपाल सम्वत्को ख्याति र प्रसिद्धी कायम राख्न प्रत्येक समय र कालखण्डमा नेपाल सरकारले उचित र बिशेष महत्व दिएको बताउनुभयो । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी र प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष युवराज गिरी सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

यसअघि नेपाल भाषा तथा साँस्कृतिक समाजको अगुवाईमा नयाँबर्षको शुभकामना सहित नगर परिक्रमा गरिएको थियो । इ.सं ८८० अर्थात् बिक्रम् सम्वत ९३७ मा संखधर साख्वाले गरिव जनताको ऋण मोचन गरी नेपाल सम्वत्को सुरुआत गर्नु भएको थियो । सरकारले २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । तीनै तहका सरकारका आधिकारिक कागजातहरुमा अहिले नेपाल सम्वत्को पूरा मिति लेख्ने गरिएको छ । २०६५ सालमा नेपाल सरकारले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत्को मान्यता दिएको थियो ।

Similar Posts