सिदिङ्वामा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २१ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपको थुङ्रुम्बामा मंगलबार साँझ भएको जिप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार प्र १–०१–००१ ज ३४७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार ढङ्ढङगे झरनाको भ्रमण गरी आङ्खोपतर्फ फर्कँदै गरेको उक्त जिप साँझ करिव ६ः३० बजेतिर दुर्घटनामा परेको हो ।
सो दुर्घटनामा परी झापाको बुद्धशान्ति गाउँपालिका निवासी लोकबहादुर कुँवरको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । मृतक चौहान आङ्खोपमा आफन्तकहाँ पाहुना आउनुभएको थियो । वडाध्यक्ष लिम्बूका अनुसार झापाकै शनिश्चरे निवासी प्रकाश चौहान गम्भीर घाइते हुनुभएको र चौहानलाई सिदिङ्वाबाट सुविधा सम्पन्न अस्पतालतर्फ सिफारिस गरिएसँगै यहाँबाट उपचारमा पठाइएको छ ।
अन्य घाइते हुनेमा आङ्खोप निवासी जिपका चालक प्रकाश चौहान, चौहानकी श्रीमती र दुइजना बालबच्चा रहेका छन् । सामान्य घाइते भएका उनीहरुको साब्लाखु स्वास्थ्यचौकीमा उपचार भइरहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । साब्लाखु प्रहरी चौकीका अनुसार जिपमा चालकसहित सात जना यात्रु सवार रहेका थिए ।
जिप सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटनामा परेको हो । ढङ्ढङगे झरना सोही गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको झरनाको पारिवारिक भ्रमण गएर फर्कने क्रममा जिप दुर्घटना भएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो ।