तेस्रो तिम्बुङ पोखरी ट्रेल भदौ २५ मा,पुरस्कार राशीमा बृद्धि
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । भदौ २५ गते हुने तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशीमा साविक भन्दा बृद्धि गरिएको छ । खुल्ला र महिलातर्फका बिजेताले पाउने पुरस्कार राशीलाई समान बनाईएको छ ।
आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संर्वद्धन समितिका अध्यक्ष अमिर राईका अनुसार खुल्लातर्फका बिजेताले ८३ हजार ५२५ रुपैयाँ,उपबिजेताले ६३ हजार ५२५ रुपैयाँ र तृतीय हुनेले ४३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । महिलातर्फ भने बिजेता र उपबिजेताका लागि मात्र पुरस्कार रकम राखिएको राईले जानकारी दिनुभयो । महिलातर्फ प्रतिश्पर्धीको संख्या कम हुने भएकोले प्रथम र द्धितीय पुरस्कार मात्र राखिएको राईले बताउनुभयो । खुल्ला र महिलातर्फ समान दूरीको दौड हुने छ । महिलातर्फका बिजेताले खुल्लातर्फ बराबर बिजेताले ८३ हजार ५२५ रुपैयाँ र उपबिजेताले ६३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । सिदिङ्वा गाउँपालिकाका बासिन्दामात्र दौडमा सहभागी हुन पाउने स्थानीय ट्रेल रन प्रतियोगिताका लागि भने प्रथमले मात्र पुरस्कार पाउने भएका छन् ।
आयोजक संस्थाका अध्यक्ष राईका अनुसार स्थानीय ट्रेल रन प्रतियोगिताका बिजेताले ३३ हजार ५२५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताका बिजेताले ५० हजार,उपबिजेताले ३५ हजार तृतीय हुनेले २० हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएका थिए । उतिबेला महिलातर्फ भने प्रथम हुनेलाई मात्र पुरस्कार दिईएको थियो । महिलातर्फका बिजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । स्थानीयतर्फ (सिदिङ्वा गाउँपालिका भित्रका)प्रथम हुनेलाई नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र दिईएको थियो ।
समुद्र सतहबाट ४ हजार ३ सय ४० मिटर उचाईको तिम्बुङ पोखरी क्षेत्रबाट हुने ट्रेल रन प्रतियोगिता ३ हजार ८ सय मिटर उचाईको पाङदुवामा झरी फेरि ४ हजार २ सय मिटर उचाईको ठूलो भञ्ज्याङमा आएपछि दौड दूरी पूरा हुने छ । पोखरी क्षेत्रबाट पाङदुवामा झरी फेरि ठूलो भञ्ज्याङ उक्लदा दौडको दूरी करिव १५ किलोमिटर हुने छ । कूल २१ किलोमिटर दूरीमा ट्रेल रन प्रतियोगिता हुने छ । दोस्रो तिम्बुङ पोखरी ट्रेल रनको दूरी पनि यति नै थियो । प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा भने ट्रेल रन दूरी ७.८ किमी रहेको थियो ।
पदमचाल अर्थात् केञ्जोको ‘हव’तिम्बुङ पोखरी क्षेत्रको प्रर्वद्धनका लागि ट्रेल रन प्रतियोगितालाई यसबर्ष पनि निरन्तरता दिईएको आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । प्रथम र दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भने भदौ २६ गते भएको थियो । तिम्बुङ पोखरी पदमचाल अर्थात् केञ्जोको राजधानी मानिएको र भदौ महिनामै केञ्जोको आर्कषणमा बढी हुने भएकोले उक्त समयमै तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना गरिएको राईले बताउनुभयो ।
राईका अनुसार यसबर्षपनि तिम्बुङ पोखरी सहितका पर्यटकीय क्षेत्रको प्रचार र प्रर्वद्धनमा योगदान पु¥याउने एक पत्रकारलाई नगद ३० हजार रुपैयाँ सहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने छ । अघिल्लो बर्षको भदौ महिनामा चलेको जेन जी आन्दोलनसहितका कारणबाट अघिल्लो बर्ष घोषणा गरेर पनि पत्रकारिता पुरस्कार बितरण गरिएको थिएन । अघिल्लो बर्ष पत्रकार महासंघ ताप्लेजुङका पूर्व सभापति किशोरकुमार राईले पुरस्कार पाउने गरी घोषणा गरिएको थियो । अघिल्लो बर्ष पुरस्कारका लागि घोषणा गरिएका राई र यसबर्ष पुरस्कृत हुने एकजनालाई जनही नगद ३०–३० हजार रुपैयाँका दरले पुरस्कार बितरण गरिने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । यो पुरस्कार ताप्लेजुङ र पाँचथरका पत्रकार केन्द्रित हुने समेत उहाँले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिका र पर्यटन कार्यालय काकडभिट्टाले पोखरी ट्रेल रन प्रतियोगिताका लागि आर्थिक सहयोग गरेका छन् । ट्रेल रन संगै याक चौंरीको प्रर्दशनी,केलाङ नृत्य र पदमचालले भरिएको क्षेत्रको भ्रमणलाई आयोजकले मुख्य आर्कषण मानेको छ ।