संघीय सरकारको कटौतिमा परेका योजना जोखिम मोलेरै कार्यान्वयन गर्दै ताप्लेजुङका वडाध्यक्ष

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा आउन थालेका कार्यक्रम जेन जी आन्दोलनपछि बनेको सरकारले ‘टुक्रे र बितरणमुखी’भन्दै कटौति गर्न थालेपछि ताप्लेजुङको फुङलिङका वडाध्यक्षले चुनौति मोलेर कार्यान्वयन सुरु गरेका छन् ।

फुङलिङ नगरपालिको सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले ‘बेरुजु आए ऋण खोजेर तिर्छु,तर स्वीकृत कार्यक्रम कटाउँदिन भन्दै कार्यान्वयनमा लग्नु भएको हो ।‘स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि जनता आफैं अग्रसर भए,मैले ति योजना कटौति भए भनेर धर पाउन सकिन’वडाध्यक्ष सुनुवारले भन्नुभयो ‘त्यही भएर जोखिम मोलेको हुँ’। जनताका लागि तय भएका कार्यक्रम जनताको माग अनुसार अघि बढाउन नसक्दा जनताको हुन सकिदैंन भनेर मैले ‘बेरुजु आए ऋण खोजेर तिर्छु,तर स्वीकृत कार्यक्रम कटाउँदिन भनेर स्वीकृत कार्यक्रम धमाधम कार्यान्वयनमा लगेको वडाध्यक्ष सुनुवारले बताउनुभयो । उहाँका अनुसार बर्षायाममा बिग्रिएको सडक मर्मतसम्भार देखि सुत्केरी पोषण खर्च र नागरिक किरिया खर्चका कार्यक्रम जोखिम मोलेर अघि बढाईएको छ ।

सुनुवारले असोज १० गते देखि वडाक्षेत्र भित्र बिग्रिएर मर्मत गर्नुपर्ने सडकहरु उधारोमा मर्मतसम्भार गर्न थालिएको बताउनुभयो । उहाँले ऋण खोजेरै वडाका मृतक गंगाराम दाहालको परिवारलाई घरमै पुगेर नगद १० हजार रुपैयाँ किरिया खर्च वापतको रकम उपलब्ध गराउनु भएको छ् । चालु आर्थिक बर्षमा वडाभित्र करिव १२ जना सुत्केरी सदस्य र ६ जना मृतक सदस्यलाई वडाले सहयोग रकम उपलब्ध गराउनुपर्ने हुन्छ । रकम निकासा नभईसकेको अवस्थामा अहिले मृतक सदस्यका परिवारलाई दिने किरिया खर्च वापतको नगद १० हजार तथा सुत्केरी पोषण खर्च वापतको नगद १० हजार रकम आफुले ऋण खोजेरै टारिरहेको वडाध्यक्ष सुनुवारको भनाई छ । सुत्केरी पोषण खर्चमा कुखुरा,घीउ,अण्डा,चना मटर सहितका पोषिलो खानेकुराको प्याकेट हुने छ ।

सुत्केरी महिलालाई पोषण सहयोग कार्यक्रम सुरु भएको दुई आर्थिक बर्ष भएको छ । मृतक सदस्यलाई किरिया खर्च वापत सहयोग रकम दिने कार्यक्रम भने नयाँ हो । वडासभा हुँदै नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा आइरहेको कार्यक्रम हठातमा रोक्न नमिल्ने नागरिककै सल्लाह अनुसार आफुले जोखिम मोलेर बितरण सुरु गरिएको सुनुवारले बताउनुभयो । उहाँले सडक मर्मत देखि सहयोग रकम बितरण सुरु गर्नुअघि नगरपालिकाको आर्थिक प्रशासन शाखासंग समन्वय समेत गर्नु भएको थियो ।

नगरपालिकाको आर्थिक प्रशासन शाखाले अर्थ मन्त्रालयले पठाएको पत्र बारे अवगत गराएपछि वडाध्यक्ष सुनुवारले नागरिककै माग र इच्छा अनुसार तय भएका कार्यक्रम,उनीहरुकै सहमतिमा कार्यान्वयनमा लैजान थालेको जिकिर गर्नुभयो । वडाध्यक्ष सुनुवारले नागरिकको इच्छा र आकाँक्षा मारेर आफु जनप्रतिनिधि हुन नसक्ने ठहर गर्दै सुरु भएका योजनाको बिल भरपाई,फोटो,भिडियो सहितका प्रमाण सुरक्षित गरी कार्यान्वयनमा लगेको जानकारी दिनुभयो । स्थानीय तहबाट पारित भई कार्यान्वयनमा जान सुरु भएका कार्यक्रम माथि संघीय सरकारले हस्तक्षेप नगर्ने विश्वास वडाध्यक्ष सुनुवारको छ ।
फोटो : वडाका मृतक नागरिक गंगाराम दाहालको परिवारका सदस्यलाई सहयोग रकम उपलब्ध गराउँदै वडाध्यक्ष क्षितिज सुनुवार

Similar Posts