आक्रमण गरी घाइते बनाउनेहरुलाई वडाध्यक्षको सन्देश‘अरुको बहकावमा लागेर भबिष्य नबिगारौैं’

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १२ । गत भदौ ७ गते फुङलिङको तोक्मेमा एक समूहको साँघातिक आक्रमणमा परी घाइते भएका आठराई त्रिबेणी गाउँपालिका वडा नं २ का वडाध्यक्ष टिकेन्द्र सेन्दाङले आक्रमणमा संलग्नहरुलाई अरुको बहकावमा लागेर आफ्नो भबिष्य नबिगार्न आग्रह गर्नु भएको छ ।
घाइते वडाध्यक्ष सेन्दाङले बिहीबार सामाजिक सञ्जालमार्फत ‘आफुमाथि आक्रमण गर्ने चिरपरिचित जो कोही भाईहरुलाई पनि आउँदा दिनमा अरुको बहकावमा लागेर आफ्नो भबिष्य नबिगार्न आग्रह गर्दछु’भन्नु भएको छ । घाइते वडाध्यक्ष सेन्दाङले आफुमाथि ज्यान मार्ने उद्देश्य सहित सांघातिक आक्रमण भएको दावी गर्नु भएको छ ।
भदौ ७ गते भएको उक्त घटनामा परी घाइते सेन्दाङ बिएण्डसी अस्पताल झापामा उपचार पश्चात अहिले आराम गरिरहनु भएको छ । घाइते भएको दिन सुरुमा उहाँलाई ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो । सेन्दाङले आफुलाई घाइते अवस्थाबाट उठाएर अस्पतालसम्म लैजाने टिमदेखि आफ्नो अहिलेसम्मको अवस्थाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।