सुँगुरका खोर हटाउन फेरि साउन २२ सम्मको म्याद

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १५ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले अव्यस्थित रुपमा रहेका सुँगुरका खोर हटाउन साउन २२ गतेसम्मको समय दिएको छ ।
नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त अवधि भित्रमा समेत सुँगुरका खोर नहटाए अटेर गर्नेहरुलाई नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने पुनःस्मरण गराएको छ । बिहीबार सूचना जारी गर्दा नगरपालिकाकोतर्फबाट कसैको हस्ताक्षर छैन । बरु नगरपालिकाको आधिकारिक छाप भने प्रेषण गरिएको छ । नगरपालिकाले बर्षातको समयमा देशभर मलेरिया रोग फैलिएको र ताप्लेजुङमा पनि मलेरियाका बिरामी फेला परेको तथा सुँगुरको मलमूत्रले वातावरण,जनस्वास्थ्य तथा अन्य पक्षमा समेत असर गर्ने तथा सेते लामखुट्टेका फुल र लार्भा फोहोरमा फैलने भएकोले अव्यस्थित रुपमा रहेका सुँगुरका खोर हटाउन सूचना जारी गरेको छ ।
नगरपालिकाले तोक्मेडाँडा,कफी हाउस आसपासका क्षेत्र,तोक्मेडाँडा हुँदै पालसिंह डाँडा–बुद्धचौक–बिहीबारे आसपासका क्षेत्र,शेर्पाटोल–दाहालगाउँ–बाँझोगरा आधारभूत बिद्यालय आसपाससका क्षेत्र र वीरेन्द्रचौक–हुलाकटोल–नवज्योति बोर्डिङ स्कुल–नयाँबसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्रमा रहेका सुँगुरका खोर हटाउन सूचनामार्फत उर्दी गरेको छ । यस्तै बालमन्दिर क्षेत्र–पुरानो गोसलाइन–कञ्चनजंघा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन क्षेत्र र भानुस्कुल–सेतिधारा–बोझे आसपासका क्षेत्रका सुँगुरका खोरहरु हटाउन समेत नगरपालिकाले साउन २२ गतेसम्मको म्याद दिएको छ ।
यसअघि नगरपालिकाले पहिलोपटक प्रकाशित गरेको सूचनाको बिरोधमा सुँगुर तथा बंगुर पालक र व्यवसायीले बिरोध गर्दै संघर्ष समितिनै बनाएर सडक संघर्षको सुरुवात गरेका थिए । नगरपालिकाले दोस्रो पटक सूचनामार्फत सँुगुर र बँगुरका खोर हटाउन उर्दी गरेको छ ।