पाथीभरा याङवरकले बाढी पीडितलाई १ लाख सहयोग गर्ने,६ बिधाका खेल प्रशिक्षकलाई सेवा करारमा लिईदैं

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । आठराई त्रिबेणी पछि ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पनि रसुवा बाढी पीडितका लागि सहयोग गर्ने निर्णय लिएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाको बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकले रसुवा बाढी पीडितका लागि पालिकाकोतर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय लिएको हो । पालिकाका स्वकीय सचिवालय संयोजक तेजवीर मेन्याङ्वोका अनुसार पालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने छ भने पालिकाका सम्पूर्ण कर्मचारीको २ दिन बराबरको र जनप्रतिनिधिको १ दिन बराबरको पारिश्रमिक प्रकोप पीडित उद्धार कोषमा जम्मा गरिने भएको छ । पाथीभरा याङवरक गाउँपालिकाले ६ बिधामा खेल प्रशिक्षक राख्ने र त्यसका लागि सेवा करार गर्ने निर्णय पनि गरेको छ ।

स्वकीय सचिवालय संयोजक मेन्याङ्वोका अनुसार भलिबल,कराँते,उसु,तेक्वादो,कवड्डी र एथलेटिक्सका खेल प्रशिक्षकको तत्काल व्यवस्थापन गरिने भएको छ । पालिकाले यसबर्षको जिल्ला तथा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै उक्त बिधाका खेल प्रशिक्षकलाई सेवा करार गर्ने निर्णय लिएको हो । पाथीभरा याङवरक गाउँपालिका यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मुख्य व्यवस्थापक पनि हो । अघिल्लो बर्षको राष्ट्रपति रनिङ शिल्डकको व्यवस्थापक सिदिङ्वा गाउँपालिका थियो । सो भन्दा अघि मैवाखोला गाउँपालिका,आठराई त्रिबेणी र सिरिजङ्गा गाउँपालिकाले यसअघि नै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको व्यवस्थापन जिम्मेवारी सम्हालिई सकेका छन् ।

Similar Posts