पाथीभरा मन्दिरबाट ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक,तेल्लोकले ईटहरीको टिमसंग उद्घाटन खेल खेल्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १५ । साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा गृह टीम तेल्लोक स्पोर्टिङ क्लवले उद्घाटन खेलमा द योङ ब्रर्दश क्लव इटहरी प्रतिश्पर्धी पाएको छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरमा पुगेर बिहीबार अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार पहिलो खेलमा तेल्लोक स्पोर्टिङ क्लवले सुनसरीको द योङ ब्रर्दश क्लव इटहरीसंग भिडन्त गर्ने छ । यसपटक आयोजकको प्रतिनिधित्व तेल्लोक स्पोर्टिङ क्लवले गरेको छ । जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमको बिशेष उपस्थिति तथा लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन,पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ,लाखेजात्रा सञ्चालन समितिका पूर्व अध्यक्ष देवराज गुरुङसहितका पदाधिकारी तथा सदस्यको उपस्थितिमा लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले खेल तालिका सार्वजनिक गर्नु भएको हो ।
शेर्पाका अनुसार साउन २५ गते हुने पहिलो चरणको दोस्रो खेलमा साहारा क्लव पोखराले रेड स्टार फुटबलव क्लव झापासंग प्रतिश्पर्धा गर्ने छ । यस्तै पहिलो चरणको तेस्रो खेलमा साउन २६ गते भारत सिलगुढीको लेजण्ड फुटबल एकेडेमीको भिडन्त चर्च ब्वाइज फुटबल क्लव काठमाडौंसंग हुने छ । पहिलो चरणको अन्तिम खेलमा साउन २७ गते मधेसको सशक्त टिम सलहेश युवा क्लवले पूर्वी पहाडको पाँचथरस्थित फिदिम स्पोर्टिङ क्लवसंग प्रतिश्पर्धा गर्ने शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा ८ टिम सहभागी हुँदैछन् । पहिलो चरणको खेल समाप्त भएपछि २८ र २९ गते सेमीफाईनलमा खेल हुने भएका छन् । ३० गते एकदिन खेल नखेलाई उक्त दिन साँस्कृतिक कार्यक्रम सहितका मनोरञ्जनात्मक कार्यक्रम गरेर साउन ३१ गते फाईनल खेल हुने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष मादेनले जानकारी दिनुभयो ।