कोल्ड स्टोरका लागि सिदिङ्वाले खोज्यो जग्गा

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शीत भण्डार(कोल्ड स्टोर)निर्माणका लागि निःशुल्क जग्गा खोजेको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार निःशुल्क रुपमा दिइने जग्गा पालिकाको वडा नं ३ आङखोप,वडा नं ४ साब्लाखु र वडा नं ५ लिम्बूदिन क्षेत्रको हुनुपर्ने छ । निःशुल्क जग्गा दिन चाहनेले साउन १४ गते भित्र गाउँ कार्यपालिकाको कार्यालयमा आबेदन दिनुपर्ने हुन्छ ।
जग्गा कम्तिमा २ रोपनी हुनुपर्ने,जग्गा पालिकाका सम्पूर्ण नागरिकलाई पायक पर्ने हुनुपर्ने,साब्लाखु भञ्ज्याङदेखि वडा नं १ कालिखोला जाने मुल बाटो वा साब्लाखु भञ्ज्याङदेखि वडा नं ७ सुरुम्खिम जाने मुलबाटोले छोएको जग्गा हुनुपर्ने पालिकाले जनाएको छ । प्राप्त भएका आबेदन उपर लाभ लागत र अन्य प्राविधिक पक्ष समेतलाई हेरेर उपयुक्त जग्गा छनौट गरिने पालिकाले जनाएको छ ।