तेस्रो ताप्लेजुङ गोल्डकप:सहयोग रकम जुट्न थाल्यो,खेलमैदानस्थलमा अस्थायी प्याराफिट निर्माण सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । साउन २४ गतेदेखि ताप्लेजुङमा हुने तेस्रो ताप्लेजुङ गोल्डकपका लागि सहयोग रकम जम्मा हुन थालेको छ ।

संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग रकम उठ्न थालेको आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । निजी तथा आवसीय बिद्यालयहरुको छाता संगठन(प्याब्सन)ताप्लेजुङले संस्थागत रुपमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । व्यक्तिगततर्फ समेत धमाधम सहयोग रकम लाखेजात्रा सञ्चालन समितिको खातामा जम्मा हुन थालेको कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । लाखेजात्रा सञ्चालन समितिले खेल सञ्चालन स्थल भानुजन माविको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गर्न थालेको छ ।

बाँसद्धारा निर्मित अस्थायी प्याराफिट र खेलमैदानमा रहेको स्थायी प्याराफिटमा खेल अवलोकनकर्तालाई बस्ने प्रवन्ध गरिने शेर्पाले जानकारी दिनुभयो । लाखेजात्रा सञ्चालन समितिले गोल्डकपका बिजेता र उपबिजेता सहित बिधागततर्फ प्रदान हुने पुरस्कार र खेलमा सहभागी हुने टिमको निर्णय गर्ने तयारी गरेको छ । उक्त निर्णयपछि पत्रकार सम्मेलनमार्फत अहिलेसम्मको तयारी समेतका बारेमा जानकारी दिने प्रयत्न भइरहेको शेर्पाले जानकारी बताउनुभयो ।

 

Similar Posts