ताप्लेजुङमा तिहारको रौनक सुरु
चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङमा तिहारको रौनक सुरु भएको छ । तिहार पर्वको आगमनसँगै सदरमुकाम फुङ्लिङ बजार र गाउँघरमा देउसी भैलो नाचको रौनक सुरु भएको हो ।
जिल्लामा देउसी भैलो तथा साँस्कृतिक नृत्यसहित तिहार पर्वको रौनकता छाएको हो। तिहार पर्वलाई रमाइलो बनाउन विभिन्न क्लब, समूह र सङ्घ संस्थाले देउसी, भैलो कार्यक्रम सुरु गरेका हुन्। साँस्कृतिक नृत्य गर्दा लगाउने पोसाक साथै मौलिक भेषभूषा समेतमा सजिएर देउसीभैलो कार्यक्रम सुरु गरिएको छ । तिहारको सुनौलो अवसरलाई सदुपयोग गर्दै देउसी भैलो कार्यक्रम सुरु गरिएको सम्बन्धित क्लबले जनाएका छन् । तिहारलाई मनोरञ्जनपूर्ण बनाउने परम्परागत चलनलाई निरन्तरता दिँदै देउसीभैलो कार्यक्रम सुरु गरेको र देउसी भैलोबाट सङ्कलन हुने आर्थिकलाई सामाजिक हितका कामका लगानी गरिने पनि क्लबहरुले उल्लेख गरेका छन् ।
तिहारको अवसरमा ग्रामीण क्षेत्रबाट स्थानीय क्लब तथा संस्थाहरुले देउसीभैलो कार्यक्रम लिएर सहर बजारसम्म पुगेका छन् । यसै क्रममा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुबाट देउराली साँस्कृतिक युवा परिवारले देउसीभैलो कार्यक्रम लिएर सदरमुकाम फुङ्लिङ आएको छ। समाजका लागि आवश्यक पर्ने थालबटुका र पछिल्लो समय लोप हुन लागेको नौमती बाजा सेट खरिद गर्ने उद्देश्यले देउसीभैला नाच लिएर फुङ्लिङ बजार आएको परिवारका अध्यक्ष रत्न नुगो लिम्बूले बताउनुभयो । परम्परा र आधुनिक कला संस्कृति समेतलाई समावेश गरी देउसी भैलो कार्यक्रम लिएर पहिलोपटक बजार आएको अध्यक्ष नुगोको भनाइ छ । देउसी भैलोको मनोरञ्जनसँगै परम्परा र कला संस्कृति संरक्षण गर्ने साथै आर्थिक सङ्कलन गर्ने उद्देश्य लिएर सदरमुकाम आएको परिवारका सचिव दिलकुमार दाहालले बताउनुभयो ।
यसअघिका वर्षहरुमा परिवारले आफ्नै गाउँ र छिमेकी गाउँ फक्ताङ्लुङ गाउँपालिकासम्म देउसी भैलो खेलेर जुटेको रकमलाई परिवारलाई आवश्यक पर्ने बाध्यबाधन सहितका सामग्री खरिद गरिएको दाहालले जानकारी दिनुभयो । यसवर्ष केही बृहत योजनासहित सदरमुकाम बजार छिरेको र क्लबको योजना सफल बनाउनलाई योगदान गर्न बजारवासीलाई उहाँले आग्रहसमेत गर्नुभएको छ । यसरी विभिन्न उद्देश्यका साथ आयोजना गरिने विभिन्न गीत, सङ्गीत, मौलिक प्रस्तुतिसहितको देउसी भैलो कार्यक्रमले तिहार गुञ्जयमान हुन थालेको छ । सहर बजार क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत तिहारको रौनक छाएको स्थानीय बताएका छन् । केही गाउँमा शनिबार बेलुकादेखि नै देउसी भैलो नाच सुरु भएको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका स्थानीय सुधिर सावादेनले जानकारी दिनुभयो ।