ताप्लेजुङ्गेहरुलाई साझा मञ्च प्रदान गर्दै सरोकार केन्द्र र ताप्लेजुङ समाज,ताप्लेजुङ्गेहरुलाई भदौ महिना उत्सव बन्दै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३१ । ताप्लेजुङ जन्मघर भई पेशा व्यवसायको सिलसिलामा उपत्यका गई बसोबास गर्नेहरुको संस्था ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालले दुई छुट्टाछुट्टै कार्यक्रममार्फत सम्मान सर्मपण कार्यक्रम गर्ने भएका छन् ।

ताप्लेजुङ समाज नेपालको मुख्य आयोजना तथा पाथीभरा दिदी–बहिनी समूहको सह–आयोजनामा भदौ ६ गते हरितालिका तिज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम गर्ने भएको छ । जन्मभूमिको सम्झना,मौलिक तथा लोक संस्कृतिको जर्गेना र नारी सम्मानलाई एउटै मञ्चमा जोड्ने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएको ताप्लेजुङ समाज नेपालले जनाएको छ । नेपालका प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई ताप्लेजुङ समाजले ताप्लेजुङका महिलाहरूको जीवन,संघर्ष,समर्पण,सफलता र योगदानलाई खोज्ने, अभिलेखीकरण गर्ने र भावी पुस्तासम्म पुर्‍याउने सामाजिक अभियानको रुपमा लिएको छ ।

समाजका अध्यक्ष रमेश बरालका अनुसार कार्यक्रम धुम्वाराहीमा हुने भएको छ । समाजका लागि जीवन समर्पित गरेका तर सार्वजनिक रूपमा कहिल्यै चर्चामा नआएका महिलादेखि शिक्षा,स्वास्थ्य, प्रशासन,राजनीति,समाजसेवा,उद्यमशीलता,कला,साहित्य,संस्कृति, सञ्चारलगायतका क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका महिलाहरुलाई सम्मान गरिने समाजले जनाएको छ । आयोजकले ताप्लेजुङका ६१ वटै वडाबाट सम्मानयोग्य महिलाहरूको पहिचान र नामावली संकलन गरिसकेको जनाएको छ ।

सम्मानलाई केही परिचित अनुहारमा मात्र सीमित नगरी जिल्लाका विभिन्न भूगोल,समुदाय र क्षेत्रमा योगदान पु¥याएका महिलाहरूलाई सम्मान गर्ने योजना बनाईएको समाजले जनाएको छ । कार्यक्रममा ताप्लेजुङको जातीय विविधता भित्रको एकता झल्काउने गरी नौमति बाजा देखि,पालम,संगिनी र स्यार्बो नृत्यसम्म प्रस्तुत गरिने भएको छ । कार्यक्रमलाई साँस्कृतिक उत्सवको रुपमा समेत लिईएको छ । अञ्जु गौतम,जुनु प्रसाँईसहितका कलाकारले साँगितिक माहोल सृजना गर्नुहुने छ भने ताप्लेजुङकी छोरी चर्चित नृत्यकार देविका गौतमको बिशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

यता,ताप्लेजुङ सरोकार केन्द्रले २१ औं स्थापना दिवस तथा छैटौं अधिबेशनको अवसरमा सम्मान तथा अन्तरपालिका स्तरीय फुटसल सहितका विभिन्न कार्यक्रम गर्ने भएको छ । केन्द्रका उपाध्यक्ष सन्तोष मादेनका अनुसार भदौ १६ गते ताप्लेजुङ जिल्लामा जन्मिएका वा ताप्लेजुङ थातथलो भएका तथा आफ्नो कार्य क्षेत्रमा विशिष्ट योगदान,उल्लेखनीय उपलब्धी र गरिमामय पहिचान स्थापित गरेका व्यक्तित्वहरूलाई विशेष सम्मान गरिने छ ।

सरोकार केन्द्रका महासचिव अशोक प्यासी राईका अनुसार निजामति तथा सार्वजनिक सेवा क्षेत्र र शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विशिष्ट योगदान दिने व्यत्तित्व सम्मानित हुनेछन् । निजामति तथा सार्वजनिक सेवा क्षेत्र अन्तरगत नेपाल सरकारको विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्यरत व्यत्तित्व र शैक्षिक तथा प्राज्ञिक क्षेत्र अन्तरगत नेपाल वा विदेशका मान्यताप्राप्त विश्व विद्यालयमा प्राध्यापक तह वा सो सरहको पदमा कार्यरत वा सेवा गरिसकेका व्यक्ति, नेपाल वा विदेशका मान्यताप्राप्त विश्व विद्यालयबाट विद्यावारिधि उपाधि(पिएचडी) प्राप्त गरेका व्यत्तित्वलाई सम्मान हुने सरोकार केन्द्रको योजना रहेको छ ।

यसबाहेक नेपाल र नेपालीको गरिमा श्रीबृद्धिका लागि योगदान दिएका ताप्लेजुङ जिल्लाका नागरिकहरु समानको सूचीमा रहने भएका छन् । सरोकार केन्द्रले भदौ १३ गते अन्तरपालिका स्तरीय पुरुष फुटसल,ताप्लेजुङ जिल्लाका दुई प्रदेश निर्वाचन क्षेत्र स्तरीय महिला फुटसल सहितका प्रतियोगिता समेत आयोजना हुने भएका छन् । सरोकार केन्द्रले स्थापना दिवस तथा अधिबेशनलाई उपत्यकाबासी ताप्लेजुङ्गेहरुको भावना एकीकृत गर्ने माध्यमको रुपमा लिएको जनाएको छ ।

 

Similar Posts