डुम्रिसेका नागरिकद्धारा वडा तहमा बजार अनुगमन गर्नुपर्ने देखि रेविज र टिटी खोपको प्रभावकारी व्यवस्थापन माग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १५ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका नागरिकले उपभोक्तामैत्री बजार बनाउन बजार अनुगमनलाई नियमित र थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।

जनताको राय,गुनासो तथा सुझाव ग्रहणका लागि पाथीभरा याङवरक गाउँपालिकाले वडा नं ४ डुम्रिसेमा आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा नागरिकले बजार अनुगमनलाई पालिकाको केन्द्र तहमा मात्र सिमित नगरी वडातहसम्म विकेन्द्रित गर्नुपर्ने माग गरे । डुम्रिसेका नागरिक राम सुब्बाले बजार अनुगमन गरी बजार पसललाई उपभोक्तामैत्री बनाउनुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय समेतको नागरिक सुनुवाईका लागि डुम्रिसे पुग्नु भएकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले संयुक्त बजार अनुगमन टोलीले सम्वन्धित स्थानीय तहसंग समेतको समन्वयमा बजार अनुगमन गरिरहेको र नागरिकको माग अनुसार अनुगमनलाई थप बिस्तार गर्ने योजना रहेको बताउनुभयो ।

नागरिकले बजार अनुगमनलाई वडा तहसम्म फैलाउनुपर्ने माग गरेपछि सहायक प्रजिअ खड्काको नेतृत्वमा पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेल सहित उपभोक्ता हित संरक्षण मञ्च र सञ्चारकर्मीको टोलीले डुम्रिसेका केहि पसलको नमूनागत अनुगमन समेत गरेको थियो । सहायक प्रजिअ खड्काका अनुसार अनुगमनका क्रममा मूल्य सूची नराखेको,म्याद सिद्धिएका सामग्री समेत बिक्री कक्षमा पाईएको,करचुक्ता कागजलाई नै व्यवसायीले सबै प्रकृतिको निकायमा नविकरण भइसकेको अर्थमा बुझ्ने गरेको,पसलमा साइन बोर्ड नराखेको जस्ता समस्या पाइएको छ ।

पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार पालिकाले बजार अनुगमनका लागि कार्यविधि बनाई अनुगमनका कार्यलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउने तयारी गरिरहेको छ । केहिसमय अघि संयुक्त बजार अनुगमन टोलीले पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुस्थित पूर्णेडाँडामा रहेका बजार पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले म्याद सकिएका सामान जफत गरी नष्ट गरेको थियो । अनुगमन टोलीले खाद्यान्न बेच्ने केहि पसलमा मेटासिट देखि झिंगा मार्ने औषधि समेत फेला पारेपछि जफत गरी नष्ट गरेको थियो ।

अनुगमन टोलीले अनुगमनका क्रममा कैफियत देखिएका पसलहरुलाई सजग गराउँदै अब उप्रान्त कैफियत देखिए कानुन अनुसार हुने सुझाएको सहायक प्रजिअ खड्काले बताउनुभयो । अनुगमन टोलीले उपभोक्ताहितका लागि गरेको उक्त कार्यको डुम्रिसेका नागरिकले प्रशंसा गर्दै अनुगमनलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

सार्वजनिक सुनुवाईका क्रममा नागरिकले पालिका र वडाले सडकहरुको प्राथमिकीकरण गरी मुख्य र सहायक सडकका आधारमा विकासको क्रम अघि बढाउन,स्वास्थ्य संस्थाको सेवा प्रवाह थप चुस्त र व्यवस्थित गर्न,रेविज र टिटी खोपको व्यवस्था पालिका हुँदै वडा तहसम्म बिस्तार गर्न,पुल सहितका पूर्वाधारको बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर)तयार गर्दा हिउँद याममा गर्न माग गरेका छन् ।

डुम्रिसेका हर्कराज लिम्बूले कृषि प्राविधिकले वडातहमै आएर किसानलाई प्राविधिक सल्लाह दिनेगरीको प्रशिक्षण चलाउन माग गर्नुभयोे । उहाँले रसायनिक बिषादीले हुने गरेको मौरी नष्टप्रति पालिका जवाफदेहि बनेर जैविक मल र बिषादीको उत्पादन र प्रयोगमा ध्यान दिनुपर्ने माग पनि राख्नुभयो । पालिका अध्यक्ष केशरकुमार सुब्बाले पाथीभरा याङवरक गाउँपालिकाले आगामी आवको सुरुमै अब टिटी र रेविज खोप सहितका खोपको फ्रिजिङका लागि पालिकाको केन्द्रमा फ्रिजको व्यवस्था गरी वडातहमा आपूर्ति व्यवस्थापन सहज बनाउने घोषणा गर्नुभयो । उहाँले कृषि क्षेत्रमा लगानी बढाएको बताउँदै कृषकहरुका समस्या समाधानका लागि पालिकाले आगामी आवको नीति,कार्यक्रम र बजेटमा पर्याप्त मात्रामा कार्यक्रम राखेकोले अब उप्रान्त किसानका गुनासा नआउने विश्वास लिनुभयो ।

नागरिकले वडा तहमै योजना सम्झौताको प्रवन्ध गर्न,वडा नं २ थेचम्बु र वडा नं ४ डुम्रिसे जोड्ने पुल निर्माण कार्य तत्काल सम्पन्न गरी यातायात प्रवन्ध सहज बनाउन,वडा तहमा राखिएका पुराना नागरिक वडापत्र बिस्थापन गरी नयाँ बनाउन समेत माग गरेका छन् । पालिका अध्यक्ष सुब्बाले पालिकाले सञ्चालन गर्ने घुम्ति शिविरका क्रममा वडातहमै योजना सम्झौता हुनेगरीको प्रवन्धको योजना पालिकाले बनाएको बताउनुभयो ।

वडा नं ४ डुम्रिसेका वडाध्यक्ष बलबहादुर साम्सोहाङ लिम्बूको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष सुब्बा,उपाध्यक्ष गुरुङ,प्रमुख प्रशासकीय अधिकृत पौडेल,सहायक प्रजिअ खड्का,कार्यपालिका सदस्य इन्द्र खवास,वडा सदस्यद्धय गीता साउदेन र दुर्गा नेपाली तथा बिषयगत शाखातर्फ लेखा अधिकृत इन्द्रकमल श्रेष्ठ,ईञ्जिनियर सुदीप यादव,स्वास्थ्य शाखा प्रमुख देवेन्द्र मेन्याङवो,योजना शाखा प्रमुख शिवकुमार काम्वाङ,वडा सचिव पूर्णबहादुर ओली सहितका व्यक्ति जवाफदेहि पक्षको भूमिकामा रहनु भएको थियो ।

Similar Posts