संक्रमितको संख्या साढे ५९ हजार नाघ्यो, बिहीबार एक हजार २४६ थपिए
उज्यालो पोष्ट
काठमाडौं, असोज १ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का एक हजार २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३ जना सङ्क्रमितको संख्या पुगेको छ ।
हाल सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । यता पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।
आइसोलेसनमा कुल १६ हजार २४१ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।