ताप्लेजुङमा ६ महिनामा ३५ घटनाको सूचीकरण,सबैभन्दा बढी घरेलु हिंसाका

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनाको अवधिमा ताप्लेजुङमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ताप्लेजुङले गत पुस देखि असार महिनासम्म भएका ३५ वटा घटनाको सूचीकरण गरेको छ । इन्सेक ताप्लेजुङका प्रतिनिधि एलिना दियालीका अनुसार ३५ मध्ये ११ वटा घटना घरेलु हिंसाका रहेका छन् । सबै घटनामा महिला पीडित भएको तथ्याङ्क इन्सेकले प्रस्तुत गरेको छ । दियालीका अनुसार जबरजस्ति करणीका ७ वटा घटना भएकोमा ६ जना बालिका र एकजना महिला पीडित भएका छन् ।

१२ बर्षिया बालिका देखि ५१ बर्षिया महिला समेत जबरजस्ति करणीका घटनाबाट पीडित हुनु परेको तथ्याङक समेत इन्सेकले प्रस्तुत गरेको विवरणमा उल्लेख गरिएको छ । अभद्र व्यवहारका ७ घटना भएका छन् । यस्तै ज्यान मार्ने उद्योगका ५ वटा,अपराधिक उपद्रवका ३ वटा र कर्तव्य ज्यान,वहुविबाह र जबरजस्ति करणी उद्योगका १–१ वटा घटना भएका छन् । इन्सेकले बढ्दो लागु औषध दुव्र्यसन बिरुद्ध सचेतना र जागरणका अभियानलाई सम्वन्धित सबैको प्रभावकारी सक्रियता र समन्वयका आधारमा न्यूनीकरण गर्न सकिने औंल्याएको छ । पछिल्ला दिनहरुमा लागु औषध प्रयोगकर्ता,आयात र निर्यातकर्ता बिरुद्ध प्रहरीको सक्रियताप्रति इन्सेकले धन्यवाद समेत दिएको छ ।

इन्सेकले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन,ताप्लेजुङ जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन हुनुपर्ने सहितका बिषयमा सरकारको ध्यानाकर्षण गरेको छ । इन्सेकले २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा १ सय ५० हारहारीसम्म कैदीबन्दी रहनु परेको देखि महिला कारागार नभएको बिषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ । समिक्षा कार्यक्रममा उपस्थित सरोकारवालाले भारतको उत्तराखण्डस्थित रुद्रपुरमा मानव तस्करीकै झल्को दिने गरी प्रलोभनमा परेर पुगेका नेपालीहरुको उद्धार देखि जलविद्युत सहितका पूर्वाधार निर्माणका क्रममा पानीको मुल सुक्ने प्रकृयाको थप व्यवस्थापनको अभावले नागरिकले भोग्नुपरेको पींडा समेतका घटना इन्सेक प्रतिबेदनमा समेटिनुपर्ने सुझाव दिनु भएको छ ।

इन्सेकले मनसुनजन्य विपद्का घटनाबाट सजग रहनुपर्ने बिषयमा समेत सम्वन्धित पक्षको ध्यानाकर्षण गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफु र मातहतका निकायबाट प्रदान हुने सेवाको प्रभावकारी बितरणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । हेंवाखोला माथि निर्माणाधिन बेलिब्रिज भत्किएर यातायातका क्रममा ताप्लेजुङ–पाँचथरको सोझो यातायात सम्पर्क टुट्न सक्ने जोखिमप्रति समेत जिल्ला विपद् व्यवस्थापन समितिले योजना बनाउने र सम्वन्धित पक्षसंग समन्वय गर्ने कार्य गरिरहेको शर्माले बताउनुभयो । बढी जिम्मेवारी पाँचथरतर्फ केन्द्रित हुने भएपनि सम्भावित जोखिमका विकल्प बारे समन्वय र छलफल भइरहेको उहाँले बताउनुभयो ।

विकल्प स्वरुप हेंवाखोलामा अस्थायी डाइभर्सन बनाउन जलविद्युत परियोजनाका ठूला पेनस्टक पाइप समेत प्रयोग गर्ने विकल्प बारे छलफल भइरहेको समेत प्रजिअ शर्माले बताउनुभयो । उहाँले जिल्लाका क्रियाशिल राजनीतिक दलहरुले वडा स्तरमा समेत विपद् बिरुद्ध जागरण र जोखिम आइहाले राहत र उद्धारका लागि तयारी टोली बनाउनुपर्नेमा जोड दिनुभयो । उक्त बिषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा समेत छलफल हुने उहाँले बताउनुभयो । कारागारका लागि आफ्नै जग्गा रहेको तर भवन नबनिसकेको अवस्थाका क्षमता भन्दा बढी कैदीबन्दी राख्नु बाध्यताको उपज भएको प्रजिअ शर्माले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ,नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग),राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सहसचिव लिलाराज पौडेल,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतम,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितको उपस्थिति थियो ।

Similar Posts