मानव तस्करीकै झझल्को दिने एक घटना:भारतको रुद्रपुर पुगेका ताप्लेजुङका एकजना मृत फेला,दुई युवा जोगिएर आए

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ८ । मानव तस्करीकै झझल्को दिने गरी पारिएको प्रलोभनमा परेर भारतको रुद्रपुर उत्तराखण्ड पुगेका ताप्लेजुङको फुङलिङका एक युवा मृत भेटिएका छन् । त्यही पुगेका मृतकका भाई र साथी गरी दुईजना कुटपिट र दबाब सहन नसकेर रातारात भागेर ज्यान बचाउन सकेको भन्दै पीडकको खोजी गरी कानुनी दाहेरामा ल्याइदिन प्रहरी प्रशासन गुहार्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले मृत भेटिएका फुङलिङ बाँझोगराका अन्दाजी २८ बर्षिय सोम लिम्बूको शव नेपाल ल्याउने प्रकृया सुरु भएको जानकारी दिनुभयो । ‘कानुनी प्रकृया पूरा गरी शव ताप्लेजुङसम्मै ल्याउने प्रकृया सुरु भएको छ’डिएसपी गौतमले भन्नुभयो । घटनामा परी पीडित भनिएकाहरुको बयानका आधारमा घटनाको थप र सुक्ष्म अनुसन्धानको प्रकृया सुरु भएको समेत उहाँले बताउनुभयो । पीडितहरुले बताएको घटना विवरण सुन्दा यो घटना निकै ठूलो र थुप्रै प्रभावित भएको आशंका गरिएको प्रहरी स्रोतले बताएको छ ।

मृतकका भाई विजय लिम्बू र फुङलिङ हाङदेवाका भाग्य लिम्बू भारतको रुद्रपुरबाट रातारात भागेर फुङलिङ आई पुग्नु भएको छ । प्रहरीलाई उहाँहरुले दिएको जानकारी अनुसार भाग्यमार्फत विजय र विजयमार्फत सोम त्यहाँ पुग्नु भएको थियो । भाग्य उहाँकै अर्का साथीमार्फत त्यहाँ पुगेको भाग्य आफैंले जानकारी दिनुभयो । सोमको मृत्युको खबर विजयले मंगलवार राति थाह पाउनु भएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी गौतमका अनुसार सोमको शवको कानुनी प्रकृया पूरा गरी शव ताप्लेजुङसम्म ल्याउन एक गैर सरकारी संस्थाले सहजीकरण गर्ने भएको छ ।‘मृत्यु घटना र उक्त प्रकरणका जोडिएको सबै बिषयबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ’घटना बारे माथिल्लो निकायमा समेत जानकारी गराईसक्नु भएका डिएसपी गौतमले भन्नुभयो ।

प्रहरीले यो घटनालाई निकै ठूलो अपराधको रुपमा लिएर अनुसन्धान प्रकृया अघि बढाउने संकेत गरेको छ । विजय र भाग्यले बिल काट्ने,कपडा प्याकिङ गर्ने,कम्युटरमा काम गर्ने र मासिक भारतीय रुपैयाँ ६० हजार सम्म कमाई हुने प्रलोभनका कारण आफुहरु त्यहाँ पुगेको बताउनुभयो । उहाँहरुले कसैले यस्तो प्रलोभनमा पारेर बोलाएमा नजान तथा त्यहाँ पुगेकाहरुलाई ज्यान बचाएर तत्काल घर फर्कन सल्लाह दिनु भएको छ । भाग्यका अनुसार उहाँ चैत २१ गते बुटबल हुँदै बोर्डरपार गरेर रामपुर हुँदै रुद्रपुर पुग्नु भएको थियो । भाग्यले बोलाएपछि विजय बैशाख ४ गते त्यहाँ पुग्नुभयो भने विजयले बोलाएका उहाँका दाजु सोम बैशाख ७ गते रुद्रपुर पुग्नु भएको थियो ।
यस्तो छ मानव तस्करीकै चित्र बताउने घटना विवरण
विजय र भाग्यका अनुसार भारतको रुद्रपुरमा ग्याल्बे कम्पनी भनेर कोठा भाडामा लिईएको छ । त्यहाँ पुग्ने वित्तिकै कम्पनीले आधार कार्ड बनाउन र राशनकार्ड बनाउन भनेर प्रतिव्यक्ति ५० देखि ६० हजार रुपैयाँ लिने गरेको छ । विजयका अनुसार त्यतिले मात्र पुग्दैन । कम्पनीले प्रत्येक व्यक्तिलाई आफ्ना ५–७ जनाको समूहमा मान्छे बोलाउनुपर्ने नियम बनाउँछ । म्यासेन्जरमा कुरा गर्न लगाएर साथी बोलाएपछि थप सम्पर्क गर्न दिदैंन ।

विजयले भन्नुभयो‘मैले दाजु बोलाएँ,मलाई पैसा जम्मा गर्न भनियो,तर मैले मेरो बुबा बिरामी भएको दिदीमार्फत ताप्लेजुङबाट भिडियो पठाउन लगाए,कम्पनीका बोसलाई भिडियो देखाँए,बुबा बिरामी भएको अस्पतालको कार्ड देखाएँ,मलाई कुटपिट गर्दै कोठाबाट बाहिर निकालियो र म भागेर आउन सफल भए । विजयले दाजुलाई भेट्न पाउनु भएन । उतै छाडेर हिंड्नु भएका विजयले दाजुको मृत्यु भएको खबरमात्र पाउनुभयो । प्रहरीका अनुसार दाजुको मृत्युको कारण खुलेको छैन । भाग्यले पनि आफु त्यसरी नै भागेर ज्यान बचाउन सकेको बताउनुभयो । विजय र भाग्यका अनुसार अहिले त्यहाँ करिव ५ सय बढी नेपाली यस्तै प्रलोभनमा परेर बसेका छन् । भाग्य र विजय समेत अलग–अलग कोठामा हुनुहुन्थ्यो । उहाँहरु रहेको ठाउँमा भने ५०–६० जना नेपालीहरु रहेको भाग्य र विजयले बताउनुभयो ।
न भेटघाट गर्न दिईन्छ,नत काम,नत पारिश्रमिक
विजय र भाग्यका अनुसार एक व्यक्तिले ५–७ जना बोलाएपछि मात्र कमिसन पाइने भन्दै कम्पनीले प्रत्येक व्यक्तिलाई घर परिवार,आफन्त र साथीभाई बोलाउन लगाउँछ । मान्छे नबोलाए ज्यान मार्ने धम्कीसम्म आफुले खेपेको भाग्य र विजयको भनाई छ । आफैंले बोलाएका व्यक्तिलाई भेटघाट र सम्पर्क गर्न पाईदैंन । आफुले बोलाएका सबै व्यक्तिले ५०–६० हजार रुपैयाँ जम्मा गर्नु अनिवार्य छ ।‘मान्छे हेरीहेरी पनि रकम लिने गरेको पाइयो’भाग्यले भन्नुभयो । उहाँका अनुसार त्यहाँ पुगेका प्रत्येक व्यक्तिलाई कोठामा थुनेर राखिन्छ । खानामा पानी र अलिकति भात दिने गरेको उहाँहरुले बताउनुभयो ।

विजय र भाग्यले सुने अनुसार त्यो कम्पनीका बोसको नाम वीरेन्द्र शाही हो ।‘हामीलाई ति मान्छे को हुन् भन्ने प्रष्ट छैन,तर त्यहाँ बसेकाहरुले दिएको जानकारी अनुसार उनको नाम वीरेन्द्र शाही हो भन्ने मात्र थाह छ’भाग्य र विजयले भन्नुभयो ।‘उसको घर चाँही धनगढी तिर भन्ने सुनेको हो’भाग्यले भन्नुभयो । प्रहरीले ति व्यक्तिको आधिकारिता खोजीरहेको छ । भाग्यका अनुसार बिहान त्यहाँ ‘ग्याल्बे जोस’ भन्दै त्यहाँ पुगेका मानिसलाई जोडले कराउन लगाईन्थ्यो । जसले जो मान्छे बोलाएको हो,उसको लुगा धुने काम उसैको जिम्मेवारीमा पर्ने उहाँहरुको भनाई छ । ‘केहिदिन पछि मेसमा तिमीहरुको पनि पालो आउँछ भन्थ्यो’आफुले मानसिक तथा शारीरिक यातना खेपेको बताउने उहाँहरुले अरुलाई यस्तो प्रलोभनमा नफस्न सल्लाह दिनु भएको छ ।
घटनाको अनुसन्धान सुरु भईसक्यो : प्रहरी
दाजु गुमाएका भाई नै आएर घटना बारे प्रहरीलाई बताएपछि ताप्लेजुङ प्रहरीले यो घटनालाई ठूलै प्रकृतिको अपराधको रुपमा लिएर अनुसन्धान अघि बढाउने संकेत गरेको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)गौतमले घटनाको प्रारम्भिक जानकारी लिएर यसका बारेमा थप प्रकृया अघि बढाउने तयारी भइरहेको बताउनुभयो । प्रहरीले भाग्य र विजयको भोगाई र भनाईका आधारमा घटनाको सुक्ष्म अनुसन्धान अघि बढाउने तयारी गरिरहेको डिएसपी गौतमले बताउनुभयो ।
भारत रुद्रपुर पुगेर रातारात भागेर आएका विजय र भाग्य । विजयका दाजु सोम भने मृत भेटिएको प्रहरीले पुष्टी गरेको छ ।

Similar Posts