मैवाखोलामा अगुवा कृषक र विज्ञहरुकाबिच छलफल,फलफूल तथा तरकारीबालीको उपयुक्त क्षेत्र पहिचान गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १४ । फलफूल तथा तरकारीबालीको स्थलगत रुपमा सम्भाव्यता अध्ययन अघि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आईतवार अगुवा कृषक र विज्ञहरुकाबिच छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
तरकारी तथा फलफूलको व्यवसायिक खेती गर्नुअघि माटो,हावापानी, धरातलीय बनोट तथा रैथाने प्रजातिबारे विज्ञहरूमार्फत अनुसन्धान गर्ने कार्यमा आइतवार किसानहरुको राय लिईएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले माटो सुहाउँदो खेती प्रणालीका लागि आवश्यकपर्ने सबै विषयको विज्ञहरूमार्फत अध्ययन गरी प्राप्त प्रतिवेदनका आधारमा कृषिजन्य उपजको व्यवसायिक उत्पादनका लागि प्रकृया अघि बढाउने तयारी स्वरुप छलफल गरिएको जानकारी दिनुभयो । सम्बन्धित किसान र विज्ञहरूहरू बिचमा छलफल गराइ व्यवसायिक खेतीको सिफारिस गर्ने प्रयोजन सुरु भएको गाउँपालिकाले जनाएको छ ।
पालिका अध्यक्ष वनेमका अनुसार माटो र हावापानीसहितको अवस्था बुझ्न बिज्ञहरु पालिकाका ६ वटै वडामा पुग्नुहुने छ । पालिका क्षेत्रमा तरकारी तथा फलफूलका लागि उपयुक्त क्षेत्र पहिचान गर्ने,तरकारी तथा फलफुलबाली उत्पादनको जग्गा बाली अनुकुलताको विश्लेषणात्मक पहिचान हुने,तरकारी तथा फलफूलबाली उत्पादनका लागि कुल सम्भावित क्षेत्र पहिचान गर्ने,प्रमुख तरकारी तथा फलफूलबाली उत्पादन हुने क्षेत्र तयार गर्ने र तरकारी तथा फलफूल उत्पादन तथा बितरण अन्तरगत रहेका बजारीकरणका विभिन्न सञ्जालको पहिचान गर्नेगरी विज्ञहरुमार्फत अनुसन्धान थालिएको गाउँपालिकाले जनाएको छ ।