अब मैवाखोलामा दर्ता नगरी कसैले पनि संस्था स्थापना गर्न नपाउने,स्थापना भएका संस्था दर्तामा आउनैपर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १९ । अब ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दर्ता नगरी कसैले पनि संस्था स्थापना गर्न नपाइने भएको छ । संघसंस्था दर्ता तथा नविकरण सम्वन्धी कार्यविधि २०८१ लाई स्थानीय राजपत्रमा प्रकाशित गर्दै गाउँपालिकाले यसअघि दर्ता नभई स्थापना भएका संस्थाहरु पनि तीन महिनाभित्र दर्ता प्रकृयामा आउनुपर्ने नियम बनाएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार पालिका क्षेत्रभित्र सामाजिक,आर्थिक,साहित्यिक,वैज्ञानिक,शैक्षिक,बौद्धिक,शारिरीक,व्यवसायिक तथा परोपकारी संस्थाहरु स्थापना तथा दर्ता र नविकरणका लागि कार्यविधि बनाईएको हो । कार्यविधि अनुसार क्लव,मण्डला,प्रतिष्ठान,अध्ययन केन्द्र र मैत्री संस्थाहरु समेत स्थापना,दर्ता तथा नविकरणमा आउनु अनिवार्य रहेको छ । कार्यालयमा दर्ता नगराई संस्था स्थापना गरेमा संस्थाका कार्यकारी पदाधिकारी तथा सदस्यलाई पालिकाले जनही पाँचहजार रुपैयाँसम्म जरीवाना गर्न सक्ने भएको छ । संस्थाले प्रत्येक बर्ष सामाजिक परीक्षण तथा लेखा परीक्षण प्रतिबेदन गाउँपालिकामा बुझाउनुपर्ने हुन्छ ।

हिसावको विवरण नपठाएमा संस्थाको कार्यकारी समितिका पदाधिकारी तथा सदस्यलाई जनही एकहजार रुपैयाँ सम्म जरीवाना लिन सकिने प्रवन्ध सहितको कार्यविधि पालिकाले जारी गरेको छ । पालिकाको पूर्व स्वीकृति नलिई संस्थाको उद्देश्यमा हेरफेर गरेमा वा अर्को संस्थासंग गाभेमा वा संस्थाले आफ्नो उद्देश्यको प्रतिकुल हुनेगरी काम कारवाही गरेमा वा कार्यालयले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संस्थाको दर्ता निलम्बन र खारेज गर्ने अधिकार समेत गाउँपालिकामा निहित रहने कार्यविधि बनेको छ ।

मैवाखोलामा कसैले संघसंस्था स्थापना गर्न चाहेमा कम्तिमा ७ जना र सो भन्दा बढी व्यक्ति सम्मिलित भएको आवश्यक प्रमाण कागज सहित निबेदन दिनुपर्ने हुन्छ । रितपूर्वकका कागजात सहित पालिका अध्यक्ष वा निजले तोकेको व्यक्ति संयोजक रहेको संस्था स्थापना सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रमुख प्रशासकीय अधिकृतले आवश्यक जाँचबुझ गरी संस्था दर्ता गर्न उचित देखिएमा तोकिएको शुल्क लिएर संस्था दर्ता प्रमाण–पत्र जारी गर्न सक्ने कार्यविधि बनेको छ । संस्था दर्ता सिफारिस समितिमा पालिका अध्यक्ष वा निजले तोकेको व्यक्ति संयोजक,गाउँ कार्यपालिकाले सिफारिस गरेको एकजना कार्यपालिका सदस्य,पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिमध्येबाट पालिका अध्यक्षले मनोनित गरेको एकजना सदस्य रहने छन् । पालिकाको प्रशासन शाखाको प्रमुखलाई सिफारिस समितिको सदस्य सचिवको जिम्मेवारी दिईएको छ ।

पालिका भित्र रहेका प्रत्येक संस्थाले आर्थिक बर्ष समाप्त भएको तीनदिन भित्र नविकरण गरिसक्नुपर्ने कार्यविधिमा भनिएको छ । आर्थिक बर्ष समाप्त भएको तीन महिनाभन्दा पछि नविकरण गरेमा नविकरण शुल्कको २५ प्रतिशत र सो भन्दा पछि नविकरण गरेमा नविकरण गर्दा लाग्ने शुल्कको ५० प्रतिशत थप शुल्क लाग्ने भएको छ । संस्थाको प्रमाण–पत्र हराएमा वा नविकरण महल भरिएर अर्को प्रमाण–पत्र जारी गर्नुपर्ने भएमा दर्ता शुल्कको ५० प्रतिशत शुल्क लिई प्रतिलिपि प्रमाण–पत्र जारी गरिने भएको छ । कार्यविधि अनुसार दर्ता भएका प्रत्येक संस्था अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुने भएका छन् । संस्थाले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न,उपभोग गर्न र बेचबिखन गर्न पाउने भएका छन् । संस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न सक्ने छ र सो उपरपनि सोहि नामबाट नालिस उजुर लाग्न सक्ने भएको छ ।

 

Similar Posts