सम्भावित विपद् जोखिमबारे प्रशासनको अपिल:रातमा यात्रा नगर्न आग्रह,भारी बर्षा भए सवारी आवागमन रोकिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २ । सम्भावित भारी मनसुन र विपद्को जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले साउन ३ गतेसम्म अत्यावश्यक बाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शनिवार साँझ एक अपिल जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको मौसम सम्वन्धी पूर्वानुमानको आधारमा सम्भावित भारी बर्षा हुन सक्ने अवस्था रहेको भन्दै सावधानी र सर्तकर्ताका लागि आग्रह गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी दाहालद्धारा जारी सार्वजनिक अपिलमा ताप्लेजुङ जिल्ला सम्भावित मनसुनजन्य विपद्को सन्दर्भमा अति जोखिमयुक्त जिल्लामा रहेको स्मरण गराउँदै भारी बर्षाका कारण बाढी,पहिरो,कटान,गेग्रान वहाव र डुबानको जोखिम समेत हुन सक्ने भएकोले आवश्यक सर्तकर्ता र जोखिमबाट बच्न पूर्व तयारीका लागि सर्वसाधारणलाई आग्रह गरिएको छ ।
जारी अपिलमा सम्भावित जोखिमलाई हेरेर परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन समेत बन्द गर्नुपर्ने हुन सक्ने भन्दै यात्रा गर्दा र सवारी साधन सञ्चालन गर्दा सुरक्षा निकायसंग समन्वय गरेर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । भारी बर्षा भएको समयमा रातिको समयमा सवारी आवागमनमा रोक लगाउन सकिने बारे समेत प्रशासन कार्यालयले सम्वन्धित सबैको ध्यानाकर्षण गरेको छ ।
जिल्लाका जोखिमयुक्त राजमार्ग र सडकहरुमा डोजर,एक्साभेटर र लोडर लगायतका साधनहरुलाई तयारी अवस्थामा राख्न प्रशासन कार्यालयले सम्वन्धित निकायलाई आग्रह गरेको छ । प्रशासन कार्यालयले जिल्लास्थित सबै सुरक्षा निकाय,स्थानीय तह,स्वयंसेवक लगायत सरोकारवाला सबै निकायहरुलाई सम्भावित विपद् प्रतिकार्यका क्रममा तयारी अवस्थामा रहन समेत अपिल गरेको छ ।
खहरेका नजिकका बस्ति,पहिरोको जोखिमयुक्त स्थान र खोला तथा नदी किनारका बासिन्दालाई भारी बर्षाको समयमा बढी चनाखो भई जोखिमयुक्त समयमा सुरक्षित स्थानमा स्थानान्तरण हुने प्रकृयाका लागि सम्वन्धित स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी बस्न,स्थानीय तहका पदाधिकारी,सुरक्षा निकाय,स्वयंसेवक र अन्य सरोकारवाला निकाय तथा मौसम सम्वन्धी पूर्व सूचना अनुसार भारी बर्षाका कारण जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउने भएकोले तयारी अवस्थामा रहन समेत प्रशासन कार्यालयले अपिल गरेको छ ।
बर्षा र बाढीको जानकारी लिन १२३४,नेपाल प्रहरीमा सम्पर्क गर्न १०० र सशस्त्र प्रहरी वलमा सम्पर्क गर्न १११४ मा सम्पर्क गर्न समेत प्रशासन कार्यालयले सम्वन्धित सबैलाई आग्रह गरेको छ । ताप्लेजुङ जिल्लाका लागि भारी बर्षाका कारण विपद् परेमा सहयोगका लागि प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी,नेपाली सेनाको दुर्गादल गुल्म,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघामा सम्पर्क गर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ ।