प्रावि तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएकालाई स्थानीय तह छान्न ७ दिनको म्याद

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएर आएका १ सय ४ जनालाई स्थानीय तह छनौट गर्न ७ दिनको म्याद दिएको छ ।

इकाइ प्रमुख युगमणि सवेहाङका अनुसार चैत १ गतेका मितिले ७ दिन भित्रमा स्थानीय तह छनौट गरिसक्नुपर्ने हुन्छ । सवेहाङका अनुसार सिफारिस भएर आएकामध्ये सबैभन्दा बढी २३ जना सिरिजङ्गा गाउँपालिकामा र सबैभन्दा कम ४ जना फुङलिङ नगरपालिकामा पदस्थापन हुने छन् । यस्तै आठराई त्रिबेणी गाउँपालिकामा १५ जना,पाथीभरा याङवरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा १४–१४ जना,मिक्वाखोला गाउँपालिकामा १२ जना,मेरिङदेन गाउँपालिकामा १० जना,सिदिङ्वा गाउँपालिकामा ७ जना र मैवाखोला गाउँपालिकामा ५ जना पदस्थापन हुनेछन् ।

पालिका छनौटका लागि निबेदन पेश नगर्ने उम्मेदवारहरुलाई इकाइबाट नै बाँकी रहेका पालिकाहरुमा नियुक्ति गरिने समेत शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ । स्थानीय तहको निबेदन स्वयं आफु उपस्थित भई वा कार्यालयको इमेल ठेगाना edcutpj@gmail.com मा पेश गर्न सकिने समन्वय इकाइले जनाएको छ । निबेदन पेश गर्दा निबेदकले सबै तहका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,प्रवेशपत्रको प्रतिलिपि र शिक्षा नियमावली २०५९ को अनुसूची–१४ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गनुपर्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

 

Similar Posts