फुरुम्बुमा नमुना गाउँ कार्यक्रम कार्यान्वयन
-प्रयास लिम्बू
ताप्लेजुङ, पुस २२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा जलवायु परिवर्तन अनुकूलन नमुना गाउँ कार्यक्रम कार्यान्वयन गरिएको छ । वडाले जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ विराटनगरको साझेदारीमा नमुना गाउँ कार्यक्रम कार्यान्वयन गरेको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ र वडा कार्यालयको लागत साझेदारीमा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । नमुना गाउँ कार्यक्रमका लागि जलाधार इकाइबाट प्राप्त १० लाख रुपियाँ र वडाको एक लाख गरी कुल ११ लाख रुपियाँ बजेटमार्फत कार्यक्रम कार्यान्वयन गर्न सुरु गरिएको वडाध्यष लिम्बूले बताउनुभयो ।
उहाँका अनुसार नमुना गाउँ कार्यक्रमअन्तर्गत ताजा तरकारी तथा फलफूल उत्पादन गरी वडावासीलाई आत्मनिर्भर बन्नमा सहयोग पु¥याउन टनेल, फलफूल र तरकारीको बिरुवा वितरण गरिएको छ । वडाभित्रका ८२ घरधुरीलाई कार्यक्रम कार्यान्वयनका लागि टनेल तथा फलफूलको बिरुवा र तरकारीका बीउबिजन वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
वडाबासी किसानलाई तरकारी खेतीका लागि छाहारी निर्माण गर्न १२० वटा टनेल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । टनेल खेतीमार्फत तरकारी उत्पादन गर्ने गरी विभिन्न १० प्रजातिका तरकारीको बीउबिजन किसानलाई वितरण गरिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँले फलफूलतर्फ किवी र एभोकाडोको बिरुवा वितरण गरिएको जानकारी दिनुभयो ।
किवीको बिरुवा ७०० वटा र ९६५ वटा एभोकाडोको बिरुवा किसानलाई वितरण गरिएको । जलवायु परिवर्तन अनुकूलन नमुना गाउँ कार्यक्रमअन्तर्गत फलफूल र तरकारी खेतीका लागि किसानलाई गरिएको सहायताले उनीहरुलाई आत्मनिर्भर बनाउनमा सहयोग पुग्ने अपेक्षा राखिएको वडाध्यक्ष लिम्बूको भनाइ छ । मौसमी तथा बेमौसमी तरकारी खेतका लागि टनेल प्रभावकारी हुने वडा कार्यालयले जनाएको छ ।