अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकपको तयारी तीव्र,आउन–जान सहज सडक मार्ग रहेको आयोजकको दावी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १७ । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ४ तेल्लोकमा सुरुहुने अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आउन–जानका लागि दुईवटा मार्ग प्रयोग गर्न सकिने भएको छ ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले सुकेटार–देउराली–फावाखोला–सिकैचा हुँदै एउटा मार्ग र पाँचथरको गणेशचौक–दाहालगाउँ–सिनाम–खाम्दिने हुँदै तेल्लोक पुग्ने दुबै मार्ग उत्तिकै सहज हुने बताउनुभयो ।‘दुबैतर्फका सडकमार्गहरु सहज छन्,आउन–जान कठिनाई छैन’उहाँले भन्नुभयो । उहाँका अनुसार सुकेटार–देउराली–फावाखोला–सिकैचा हुँदै तेल्लोक पुग्ने मार्गबाट अढाई घण्टामा तेल्लोक पुग्न सकिन्छ । यस्तै पाँचथरको गणेशचौक–दाहालगाउँ–सिनाम–खाम्दिने हुँदै तेल्लोक निस्कने मार्गमा ३ घण्टा खर्चिनुपर्ने उहाँले बताउनुभयो । मोटरसाईकलबाट समेत आवत–जावत गर्न सकिने भएकोले उल्लेखित दुबैमार्ग प्रयोग गरी सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला अवलोकन गर्न सकिने भट्टराईले बताउनुभयो ।

मंसिर २३ देखि २९ गते सम्म हुने सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा एक अन्तराष्ट्रिय सहित ७ प्रतिष्ठित फुटबल टिम सहभागी हुँदैछन् । गोल्डकप तथा मेलाको तयारी अन्तिम चरणमा पु¥याएको बताउँदै क्लवका अध्यक्ष भट्टराईले गोल्डकप तथा मेलाको अवलोकनमा आउनेहरुलाई कुनै समस्या नहोस् भनेर व्यवस्थापनमा समेत ध्यान दिएको बताउनुभयो । मेलाका अवसरमा गायक राजेश पायल राई,पदम राई,बबिना किराँती सहितका कलाकारको उपस्थितिमा सांगीतिक कार्यक्रम समेत प्रस्तुत हुने भएको छ । उक्त सांगीतिक कार्यक्रम गोल्डकपको समापनको दिन मंसिर २९ गते हुने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

मंसिर २९ गते दिन तेअङ्सी सिरिजङ्गासिंह थेबेको जन्मजयन्ती पनि हो । तेअङ्सी सिरिजङ्गासिंह थेबे किराँत लिम्बू लिपिका प्रचारक,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता तथा प्रकाण्ड बिद्धान मानिन्छन् । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको चौथो संस्करणको बिजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र तथा उपबिजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

 

Similar Posts