बेकम्मा भई काम नलाग्ने प्रकृतिको घण्टीमात्र लिलामी गर्छौं :पाथीभरा क्षेत्र विकास समिति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १७ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा रहेका पुराना घण्टी लिलामी प्रकरणमा पाथीभरा क्षेत्र विकास समितिले प्रष्टीकरण दिदैं बेकम्मा भई काम नलाग्ने प्रकृतिको घण्टीमात्र लिलामी गर्ने जनाएको छ ।
मन्दिरका पुराना घण्टी लिलामी गर्ने क्षेत्र विकास समितिको निर्णय बाहिरिएसंगै यसको आलोचना हुन थालेपछि क्षेत्र विकास समितिले प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बेकम्मा भई काम नलाग्ने,खिया लागेको,टुटे फुटेको र प्रयोगमा ल्याउन नसकिने अवस्थाका घण्टी मात्र लिलामी गर्नेगरी बोलपत्र आवह्वान भएको प्रष्ट्याउनुभयो ।
२०५० साल भन्दा अघि देखिका अधिकाँस घण्टीहरु पूजास्थलमै गाडिएको बताउँदै क्षेत्र विकास समितिले प्रयोगमा आउने घण्टीहरुको व्यवस्थापनका लागि क्षेत्र विकास समितिले कार्ययोजना बनाएको समेत बताएको छ । प्रयोगमा ल्याउन सकिने पाथीभराका घण्टीहरुलाई घण्टी संग्रहालय बनाउने,घण्टी गेट बनाउने,घण्टी–घण्टी जोडेर ठूलो घण्टी बनाउने,घण्टी र त्रिशुल पार्क बनाउने जस्ता योजना क्षेत्र विकास समितिले अघि सारिसकेको हाङवाङले प्रष्ट्याउनु भएको छ ।
क्षेत्र विकास समितिले ऐतिहासिक,साँस्कृतिक र पुरातात्विक महत्व राख्ने घण्टीहरु बिक्री गर्ने कुनै कार्य नरहेको समेत जनाएको छ । क्षेत्र विकास समितिले पुराना १६ हजार ३ सय ७८ किलो बढी घण्टीहरु लिलाम बिक्री गर्ने भन्दै न्यूनतम् मूल्य प्रतिकिलो ३ सय ८० रुपैयाँ निर्धारण गरेपछि सामाजिक सञ्जालमा यसको आलोचना भएको थियो । सामाजिक सञ्जालमा कतिपयले घण्टीको न्यूनतम् मूल्य समेत झण्डै आधाले कम गरेको भन्दै आलोचना गरेका छन् ।