सुपर काबेली ‘ए’जलविद्युत प्रसारण लाइनको परीक्षण कार्य सफल,शनिवार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिवार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने भएको छ ।

मंसिर ९ गतेबाट सुरु भएको प्रसारण लाइनको परीक्षण कार्य सफल भएसंगै नेपाल बिद्युत प्राधिकरणका प्राविधिकमार्फत अन्तिम चेकजाँच गरेर राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्युतगृह रहेको रातेखोला देखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त बिद्युत पाँचथरको अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल बिद्युत् प्राधिकरणको १३२ केभिए बिद्युत प्रसारण लाइनसम्म सफल भएको छ ।

‘हामीले निर्माण गरेको बिद्युत प्रसारण लाइनमार्फत केन्द्रीय बिद्युत प्रसारण लाइनमा समाहित गर्ने स्थल दुबीचौर सम्म प्रसारण लाइनको परीक्षण सफल भएको छ’ढुङ्गानाले भन्नुभयो । उहाँले अन्तिम चेकजाँच तथा निरीक्षणका लागि बिद्युत प्राधिकरणका प्राविधिकहरुको टोली अमरपुरका लागि हिडेको जानकारी दिनुभयो । यो संगै शुक्रवार साँझ वा शनिवार बिहान सम्ममा सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसक्ने छ ।

स्नो रिर्भस लिमिटेडले निर्माण गरेको उक्त बिद्युत आयोजना २०७९ मंसिर २५ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो । बाढी र पहिरोका कारण जलबिद्युतका निर्माण भएका संरचना तथा निर्माण स्थलमा रहेका निर्माण सामग्री बगाएर अवरोध खेपेपनि निर्माण सुरु गरेको छोटो अवधिमै निर्माण कार्य पूरा भएकोमा निर्माण निकाय सन्तुष्ट देखिएको छ । प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत झण्डै २ अर्ब ६३ करोड २९ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts