| |

तीन सातादेखि आधा दर्जन आयोजनाका विधुत उत्पादन ठप्प

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ४ । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविधुत आयोजनाबाट विधुत उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिव ६५ मेगावाट क्षमता बराबरको विधुत उत्पादन ठप्प भएको हो ।
अविरल वर्षासँगै इलामको माइखोला आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर पोल (खम्बा)मा क्षति पु¥याएपछि गत असोज १२ गतेदेखि ताप्लेजुङका आधा दर्जन आयोजनाका विधुत उत्पादन ठप्प भएको हो । असोज १२ पछि सबैभन्दा ठूलो २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविधुत आयोजनाको उत्पादन ठप्प भएको छ ।
उक्त आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविधुत आयोजनाको उत्पादन पनि ठप्प भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन काबेली ‘बी–१’ र क्यासकेट दुवै आयोजना अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वमित्वमा रहेको छ । आयोजनाका स्थानीय कर्मचारी डिल्ली सुवेदीका अनुसार प्रसारण लाइनमा आएको समस्याकै कारण उत्पादन ठप्प भएको हो ।
यस्तै रिडी पावर कम्पनी लिमिटेडको स्वमित्वमा रहेको इँवा खोला जलविधुत आयोजनाको उत्पादन पनि ठप्प रहेको छ । आयोजनाका स्थानीय कर्मचारी टीकाराम मिश्रका अनुसार ९.९ मेगावाट क्षमता भएको आयोजनाबाट उत्पादन ठप्प बनेको हो । त्यस्तै ९.७ मेगावाट क्षमताको अपर इँवाखोला जलविद्युत आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यी दुवै जलविधुत आयोजना ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादन गरिएका हुन् ।
यसैगरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका भई बग्ने फावाखोलाबाट उत्पादन गरिएका दुईवटा जलविधुत आयोजनाको पनि उत्पादन ठप्प भएको छ । युनिटेक हाइड्रोपावर कम्पनीको स्वमित्वमा उत्पादन ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीको स्वमित्वमा रहेको ५ मेगावाट क्षमताको फावाखोला जलविधुत आयोजनाबाट उत्पादन हुँदै आएको विधुत ठप्प भएको छ ।
यसरी प्रसारण लाइनका कारण निजी क्षेत्रको लगानी र पहलमा निर्माण गरिएका जलविधुत आयोजनाबाट विधुत उत्पादन ठप्प हुँदा दैनिक लाखौं रुपियाँ आम्दानी गुमाई रहनुपरेको उत्पादक कम्पनीले जनाएका छन् । काबेली बी–१, इँवाखोला जलविधुत आयोजना लगायतले अघिल्लो वर्षको वर्षात् याममा बाढीपहिरोले आयोजनाका संरचनासमेत क्षति गर्दा निकै नोक्सानी बेहोरेका थिए । यता नेपाल विधुत प्राधिकरण र विधुत उत्पादक कम्पनीले संयुक्त रुपमा बाढीले क्षति गरेको प्रसारण लाइनको टावर पुनर्निर्माण गरिरहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts