|

कार्यसम्पादनको अन्तिम नतिजामा मेरिङ्देन पहिलो

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङका नौमध्ये आठ स्थानीय तहलाई पछि पार्दै मेरिङ्देन गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम नतिजाअनुसार मेरिङ्देन गाउँपालिका पहिलो भएको हो ।
आयोगको नजिताअनुसार मेरिङ्देन गाउँपालिकाले ६९.१४ अंक प्राप्त गरेर पहिलो भएको हो । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका ६७.६५ अंक ल्याएर दोस्रो र ६४.६२ अंक प्राप्त गरी मैवाखोला गाउँपालिका तेस्रो भएको छ । त्यस्तै चौथो बनेको आठराई त्रिबेणी गाउँपालिकाले ५८.६७ अंक प्राप्त गरेको छ ।
फक्ताङ्लुङ गाउँपालिका ५८.६० अंक प्राप्त गरी पाँचौ र फुङ्लिङ नगरपालिका ५६.९६ अंक प्राप्त गरी छैटौं भएको छ । सिरिजंघा गाउँपालिका ५६.४३ अंक ल्याएर सातौं, ४९.४५ अंक ल्याएर मिक्वाखोला गाउँपालिका आठौं र सबैभन्दा कम ४५.७२ अंक ल्याएर सिदिङ्वा गाउँपालिका अन्मित अर्थात नवौं भएको छ । यसअघि आयोगको प्रारम्भिक नतिजामा भने ६७.६ अंक पाएर पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ । लेखापरीक्षण, बेरुजु फर्स्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलन, आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन, पूर्ण खोप पाएका बालबालिकाको अनुपातजस्ता सूचकमा मापन गरी आयोगले अंक दिने गरेको छ ।

Similar Posts