गोल्डकपका म्यान अफ द म्याचलाई ‘अलैंची’पुरस्कार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २८ । भदौ १२ गते देखि ताप्लेजुङमा हुने चौथो ताप्लेजुङ गोल्डकपका म्यान अफ द म्याच हुने खेलाडीले ‘अलैंची’पुरस्कार पाउने भएका छन् ।
लाखेजात्रा सञ्चालन समितिलाई म्याद अफ द म्याचका सौजन्यकर्ता फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले म्यान अफ द म्याचले पाउने पुरस्कार स्वरुप ६० हजार रुपैयाँ बराबरको अलैंची हस्तान्तरण गर्नु भएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार अब चौथो ताप्लेजुङ गोल्डकपका प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप पाउने भएका छन् ।
ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालको प्रमुख नगदेवालीको रुपमा रहेको अलैंचीको प्रर्वद्धनका अलैंचीलाई पुरस्कारको रुपमा बितरण गर्न थालिएको छ । फङ्फङदेन झरना पर्यटन विकास समितिले २०८२ साल मंसिर ७ गते देखि ११ गतेसम्म आयोजना गरेको दोस्रो फङ्फङदेन झरना पर्यटन महोत्सवका बेला सञ्चालित फुटबल प्रतियोगिताका बिजेता,उपबिजेता देखि बिधागत र म्यान अफ द म्याच बन्ने खेलाडीसम्मलाई पुरस्कार रकम बराबरको अलैंची प्रदान गरिएको थियो ।