सडक दुर्घटना न्यूनीकरण तथा विपद् पूर्व तयारी र प्रतिकार्य बारे समुदायलाई जानकारी दिन गरियो नमूना अभ्यास

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २० । विद्युतका पोल रहेको साँघुरो बजार क्षेत्रमा हुनसक्ने सडक दुर्घटना र त्यसको असरबाट हुने सम्भावित आगलागी बिरुद्ध सामुदायिक सचेतनाका लागि ताप्लेजुङमा विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन तथा जिल्लास्थित सुरक्षा निकायहरुको संयुक्त प्रयासमा विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेड क्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । नमूना अभ्यास शिक्षणका क्रममा चालकको लापरवाही र ट्राफिक नियम उल्लंघन सहितका कारणबाट हुन सक्ने सम्भावित दुर्घटना र दुर्घटना पछिको प्रतिकार्य बारे अभ्यासकै माध्यमबाट जानकारी प्रेषित गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले विपद् पूर्वको सचेतना र विपद् पछिको प्रतिकार्यमा गरिने क्रियाकलापलाई समुदायसम्म पु¥याउन यस्तो नमूना अभ्यास प्रभावकारी हुने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलले विपद् पूर्व अपनाउनुपर्ने सावधानी र विपद् पछि गरिने राहत तथा उद्धारका कार्यलाई अभ्यासमूलक रुपले प्रस्तुत गरिएको जानकारी दिनुभयो । दुर्गादल गुल्मका निमित्त गुल्मपति सेनानी केशव खड्काले अभ्यासका माध्यमबाट समुदायमा सूचना प्रवाह गर्न यस्ता क्रियाकलाप प्रभावकारी हुने विश्वास लिनुभयो ।

ताप्लेजुङ आगलागी र बाढी पहिरो सहितका विपद्का घटनामा उच्च जोखिममा रहेको जिल्ला हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यहाँका ६१ वटा वडामध्ये ४२ वटा वडा बाढी र पहिरोका दृष्टीले उच्च जोखिममा रहेका छन् । सदरमुकाम फुङलिङमै बारबार आगलागीका कारण ठूलो धनसम्पत्ति नष्ट भइसकेको छ भने आगलागीका कारण मानवीय क्षति समेत भएको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिसंग रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts