कात्तिक १० देखि खेवाङमा खेवाङ गोल्डकप हुँदै,बिजेताले १ लाख ५१ हजार पाउने,गोल्डकपको मस्कट ‘केञ्जो’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा आउँदो कात्तिक १० देखि १५ गते सम्म खेवाङ गोल्डकप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

खेवाङ स्पोर्टिङ क्लवको आयोजनामा हुने प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छ । खेवाङ स्पोर्टिङ क्लवका अध्यक्ष विनम मावोका अनुसार प्रतियोगितामा उपविजेता हुने टिमले नगद १ लाख १ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छ । गोल्डकपको हरेक दिनको खेलका उत्कृष्टलाई म्यान अफ द म्याच,उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई समेत विधागत रुपमा पुरस्कृत गरिने भएको छ ।

खेवाङ स्पोर्टिङ क्लवले यसबर्षको गोल्डकपमा केञ्जो अर्थात पदमचाललाई प्रतियोगिताको मस्कटको रुपमा प्रयोग गर्ने भएको छ । केञ्जोको संरक्षण तथा यसको विशेषता,महत्व र आर्कषण दर्शाउन केञ्जोलाई गोल्डकपको मस्कटका रुपमा प्रयोग गर्ने निर्णय भएको क्लवका अध्यक्ष मावोले जानकारी दिनुभयो । यसअघि भदौ ३ गते देखि ताप्लेजुङमा सञ्चालन भएको दोस्रो ताप्लेजुङ गोल्डकपमा रेडपाण्डा अर्थात् हाव्रेलाई मस्कटको रुपमा प्रयोग गरिएको थियो ।

यता खेवाङमा आयोजना हुन लागेको गोल्डकपका लागि खेवाङ जन्मघर भई हाल इलाम नगरपालिका वडा नं ६ खरेलडाँडा बस्ने प्रकाश दाहालले गोल्पकपको प्रथम पुरस्कार प्रायोजना गर्नु भएको छ । संगै उहाँले बिजेता र उपविजेताको ट्रफी,मेडल र प्रमाण–पत्र समेत सौजन्य गरेको खेवाङ स्पोर्टिङ क्लवले जनाएको छ । तनिष डेरी तथा प्याकिङ उद्योग मिल्क नेपाल प्रालि तथा तनिष घीउ छूर्पी खरिद तथा बिक्री केन्द्रका प्रोपाइटर प्रकाशले दिवंगत हजुरआमा मायादेवीको स्मृतिमा उक्त प्रायोजना गर्नु भएको हो ।

क्लवले गोल्डकपका लागि सहयोगको आवह्वान गर्दै सहयोगी महानुभावहरुको नामावली सामाजिक सञ्जाल सहित सार्वजनिक सञ्चार माध्यमद्धारा सार्वजनिक गर्ने समेत बताएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts