|

एकसय सात जनाले गुमाए अकालमै ज्यान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १५ । ताप्लेजुङमा पछिल्लो एक वर्षको अवधिमा एकसय सात जनाले अकालमा ज्यान गुमाएका छन् । प्रहरीका अनुसार एक वर्षको अवधि अर्थात आर्थिक वर्ष २०८०/८१ मा भवितव्य, आत्महत्या लगायतका कारणबाट उक्त सङ्ख्यामा मानिसले अकालमै ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार गत आवमा ५९ प्रतिशत बढी मुद्दा भवितव्य, सवारी, कर्तव्य ज्यान र आत्महत्यासम्बन्धीका रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा गत आवमा १८१ वटा मुद्दा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाको सङ्ख्यामध्ये १०७ वटा ज्यानसँग सम्बन्धित रहेका प्ररही निरीक्षक लुङगेलीले जानकारी दिनुभयो । उहाँकाअनुसार सबैभन्दा बढी भवितव्य घटनाबाट अकालमै ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर, लडेर, चट्याङजस्ता भवितव्य घटनाबाट गत आवमा ५६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै सवारी दुर्घटनामा एकजना र कर्तव्य ज्यानसम्बन्धी घटनाबाट दुई जनाले अकालमा ज्यान गुमाएका छन् । यसैगरी आत्महत्या र आत्महत्या दुरुत्साहन घटनाबाट ४८ जनाले अकालमा ज्यान गुमाएका छन् । जसअन्तर्गत गत आवमा झुण्डिएर आत्महत्या गर्ने ४१ जना, बिष सेवन पाँच जना, हातहतियार तथा औजार प्रयोग गरी एक जना र आत्महत्या दुरुत्साहनका कारण एकजनाले ज्यान गुमाएका प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।
यता गत आवमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका अन्य घटनामा अभद्र व्यवहारसम्बन्धीका २४ वटा रहेका छन् । त्यस्तै जबरजस्ती करणीका १४, जबरजस्ती करणी उद्योग दुई, ज्यान मार्ने उद्योगका नौ वटा मुद्दा (घटना) दर्ता भएका थिए । लागू औषधसम्बन्धी पाँच वटा, गर्भपतन एक, चोरी तीन र ठगीसम्बन्धी एउटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार बैंकिङ कसुरसम्बन्धी एक, गौवध सम्बन्धी, बहुविवाह, सवारी अंगभंग, राष्ट्रसेवकलाई बाधा बिरोध गर्न नहुने र अपहरण तथा व्यक्ति बेपत्ता कसुरसम्बन्धी पनि एक–एक वटा मुद्दा दर्ता भएका छन् । गत आवमै हातहतियार तथा खरखजानासम्बन्धी चार वटा, सवारी ज्यानसम्बन्धी तीन वटा घटना प्रहरीमा दर्ता भएका थिए । यसरी गत आवमा विभिन्न २३ वटा शीर्षकमा घटना तथा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts