फुङलिङ आउँदै गर्नु भएका महतो बिरुद्ध कालोझण्डा प्रर्दशन,काफ्लेपाटीमा आन्दोलनरत पक्षको दिनहुँ प्रदर्शन

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १० । मुक्कुमलुङ(पाथीभरा) पदयात्राका लागि ताप्लेजुङ आउनु भएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई शनिवार फुङलिङमा एउटा समूहले कालो झण्डा देखाएको छ ।

फुङलिङस्थित होटल प्यारिज आसपास महतोलाई कालोझण्डा देखाईएको हो । महतोलाई उक्त समूहले विकास बिरोधी भएको आरोप लगाएको छ । कालो झण्डा प्रदर्शन गर्नेहरुले शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेड सम्मका घटना गराउन उक्साउने महतो विकास बिरोधी भएको भन्दै कालोझण्डा देखाएको बताएका छन् । कालोझण्डा देखाउनेमा अधिकाँस महिलाहरु सहभागी थिए । ‘नो केवलकार पक्ष’ले केवलकार निर्माण कार्यको प्रतिरोधमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत फागुन ६ देखि ८ गते सम्म ‘नो केवलकार पक्ष’ले पाथीभरा क्षेत्रमा मुक्कुमलुङ पदयात्रा आयोजना गरेको थियो । महतो फागुन ८ गते उक्त पदयात्रामा सहभागी हुनु भएको थियो । उहाँ त्यसपछि पाथीभरा मुक्कुमलुङ क्षेत्रमै हुनुहुन्थ्यो । शनिवार मात्र उहाँ पाथीभरा क्षेत्रबाट फुङलिङ फर्कने क्रममा कालोझण्डा देखाइएको हो । महतो गाडीमा सवार हुनुहुन्थ्यो । कालोझण्डा देखाउनेले झण्डा देखाएपनि उहाँ सवारी गाडी नरोकिईकन अघि बढेको थियो ।

मुक्कुमलुङ(पाथीभरा) पदयात्राका क्रममा फागुन ८ गते केवलकारको निर्माणाधिन बेस स्टेशन नजिकै सुरक्षाकर्मी र ‘नो केवलकार पक्ष’बिच झडप समेत भएको थियो । काफ्लेपाटी क्षेत्रमा ‘नो केवलकार पक्ष’ले दिनहुँजसो प्रर्दशन र कोणसभा गरिरहेका छन् । उनीहरुले मुक्कुमलुङ(पाथीभरा)आफ्नो प्रमुख मुन्धुमीस्थल भएकोले यसलाई साँस्कृतिक र प्राकृतिक रुपमा यथास्थानमै राख्नुपर्ने भन्दै त्यहाँ केवलकार निर्माण गर्न नहुने अडानका साथ आन्दोलन गर्दै आइरहेका छन् ।

Similar Posts