ताप्लेजुङ प्रहरीमा दर्ता भएका अपराधिक घटनामध्ये ५८ प्रतिशत भबितव्य ज्यान र आत्महत्याका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ५ । ताप्लेजुङमा एक आर्थिक बर्षमा भएका कूल अपराधिक घटनाको झण्डै ५८ प्रतिशत हिस्सा भबितव्य ज्यान र आत्महत्याका घटनाले ओगटेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार आव २०८०।८१ को एकबर्षे अवधिमा प्रहरीमा दर्ता भएका १ सय ८१ वटा मुद्दा छन् । कूलमध्ये १ सय ४ थान मुद्दा भबितव्य र आत्महत्याका छन् । लुङगेलीका अनुसार एक आवमा यहाँ भबितव्य ज्यानका ५६ तथा सवारीबाट भबितव्य १ गरी ५७ घटना भए । यस्तै झुण्डीएर आत्महत्याका ४१ वटा,बिष सेवन गरी आत्महत्याका ५ वटा र हातहतियार तथा औजार प्रयोगबाट आत्महत्याका एकथान गरी कूल ४७ वटा घटना भएको प्रहरीले बताएको छ ।

भबितव्य ज्यान र आत्महत्या बाहेक यहाँ आव २०८०।८१ मा अभद्र व्यवहारका २४ घटना भएका छन् । यस्तै जबरजस्ति करणीका १४ र जबरजस्ति करणी उद्योगका २ वटा घटना प्रहरीकोमा दर्ता भए । ज्यान मार्ने उद्योगका ९ वटा घटना दर्ता हुँदा लागु औषध सम्वन्धी ५ वटा प्रहरीकोमा दर्ता भए । आव २०८०।८१ मा कर्तव्य ज्यानका २,आत्महत्या दुरुत्साहनका १,गर्भपतन(गर्भ संरक्षण विरुद्धको कसुर) सम्वन्धीका १,चोरीका ३ र ठगीका १ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता हुन आएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयमा बैंकिङ कसुर सम्वन्धी,गौवध सम्वन्धी,बहुविबाह सम्वन्धी,सवारी अंगभंग सम्वन्धी,राष्ट्रसेवकलाई बाधा बिरोध गर्न नहुने सम्वन्धी र अपहरण तथा व्यक्ति बेपत्ता कसुर सम्वन्धीका १–१ वटा मुद्दा दर्ता भएका छन् । हातहतियार तथा खरखजाना सम्वन्धीका ४ वटा घटना दर्ता हुँदा बिष्फोटन र बिष्फोटक सम्वन्धीका कुनैपनि घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएनन् । आव २०८०।८१ मै कुटपिट अंगभंगका २ वटा र सवारी ज्यानका ३ वटा घटना प्रहरीमा दर्ता भए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आव २०८०।८१ मा बिभिन्न २३ वटा शीर्षकमा अपराधिक घटनाको विवरण राखेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts